२०८३ भाद्र २८ आइतबार

महानगर कर्मचारी भोकै पर्नुमा बालेन ‘हठ’ की, गुरागाईको ‘काथरपन’ ? उपमेयर डंगोल र सरकारको असहयोग किन ?

ई आर्थिक    शुक्रबार, चैत्र १५ २०८१
9.8K
Shares
महानगर कर्मचारी भोकै पर्नुमा बालेन ‘हठ’ की, गुरागाईको ‘काथरपन’ ? उपमेयर डंगोल र सरकारको असहयोग किन ?

ई–आर्थिक, काठमाडौं । मुलुकमा नयाँ बर्ष २०८२ नजिकिदै छ । विभिन्न ‘बादी’हरु उत्साहसहित सडक मैदानमा आफ्नो ढंगले आत्मसन्तुष्टि लिइरहेका छन् । तर, यही समयमा काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले भने छुट्टै तनाब, निराशा र अभाव झेल्नु परिरहेका छ । कारण तीन महिना देखि तलब नपाउनु । महानगरका चार हजार बढी कर्मचारीले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । यही तनाबले उनीहरुलाई पिरोलिरहेको छ ।

यो विषय र समस्या काठमाडौं महानगरको हो । तर, यो बिषय प्रसंगले भने अहिले राष्ट्रियकरण हुँदै अन्तर्राष्ट्रियकरणको रुप लिइरहेको छ । ‘भोको’ पेटले लामो समय काम गरिरहनु परेपछि यो समस्या अन्तर्राष्ट्रियकरण हुने निश्चित जस्तै भइरहेको छ ।

यो विषय र समस्यालाई समाधान गर्न अहिले तीनवटा पक्षले तत्काल काम गर्नुपर्ने देखिन्छ । मेयर बालेन्द्र साह (बालेन), संघीय सरकार र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई । तर तीनै पक्ष तीनतिर ‘फर्किदिना’ले पनि यो समस्या जटिल बन्दै गइरहेको हो ।

नियालेर हेर्दा हेर्दा मूख्य भूमिका निर्वाह र पहल गर्नुपर्ने बालेनमा आफ्नो हठ छ, उनले त्यो त्याग गर्न सकेका छैनन् । संघीय सरकार बालने हठ र अहमतालाई गलाउने पक्षमा देखिन्छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत गुरागाईमा काथरपन र भित्री ‘छलकपट’ प्रष्ट देखिन्छ ।

समग्रमा हेर्दा सबैको आ–आफ्नो गौण स्वार्थसँगै कसले कसलाई गलाउने र घुँडा टेकाउने भन्ने नै देखिन्छ । जसको प्रत्यक्ष मारमा भने कर्मचारीहरु परेका छन् । उनीहरु तीनमहिनादेखि भोको भेटले काम गरिरहेका छन् भन्दा फरक पर्दैन । दिन प्रतिदिन उनीहरुको दैनिकी तनावमय बन्दै गइरहेको छ ।

महानगरका मेयर बालेनले आफ्नै घरको कोठामा ताल्चा लगाएझै प्रमुख प्रशासकीय अधिकृतको कोठामा ताल्चा लगाएर खोल्न नदिने र प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर हुन जानु भन्ने पत्र थमाउँदा पनि हाजिर हुन जान नसक्नुले पनि कर्मचारीहरुको चुलोमा आगो नवल्ने अवस्थामा पुगेको हो । त्यसो त सरकारले पनि यो विषयलाई गम्भीर नलिई अरुलाई नै दोष देखाएर पन्छिरहेको छ ।

पछिल्लोपटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रलाई आधार मानि सुरक्षा निकायसँग समन्वय गरेर आफ्नो कोठाको ताल्चा खोलेर काम कारवाही गर्न आउनुहोस् हामी सहयोग गर्छौं भनि महानगरका कर्मचारीहरुले पटक–पटक अनुरोध गर्दा पनि बालेन एकजनाको डर त्रासले महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाई कार्यालय जान सकेका छैनन् ।

उनको यो काथरपनलाई अहिले आम कर्मचारीहरुले अर्कै रुपले हेर्ने थालेका छन् । उनले डरले भन्दा पनि गौण स्वार्थले काम गरिरहेको हो की भन्ने आशंका कर्मचारीले गर्न थालेको छ ।

कर्मचारीलाई परेको अन्यायमा एक अर्कालाई दोष देखाएर पन्छिन खोजेको देखिन्छ । यसको दायित्व ढिलो छिटो तीनै पक्षले लिनु पर्ने निश्चित छ ।

यसैबीच मेयरको अभावमा उपमेयरले पहल लिनुपर्ने हो । तर काठमाडौं महानगरकालिकाकी मेयर सुनिता डंगोल यो विषयमा मौन देखिन्छन् । उनले जित हासिल गरेको पार्टीको अध्यक्ष के.पी. शर्मा ओली अहिले मुलुकको प्रधानमन्त्री छन् । उनले चाहेको भएदेखि संवेदनशील यो विषयमा आवश्यक र उचित पहल गर्न सक्थिन । तर पनि उनले त्यसो गरेको पाइएन ।

महानगर कर्मचारीमा कहिले नदेखिएको यो कहाली लाग्दो समस्याप्रति उपमेयर डंगोलको भूमिकामा कर्मचारीहरुले प्रश्न उठाउन थालेका छन् । एक अगुवा कर्मचारीको प्रश्न छ– ‘यति लामो समय देखि कर्मचारीहरु खान नपाएर भोक भोकै हिडिरहेका छन् तैपनि उपमेयर डंगोल किन मौन ?’ ती कर्मचारी भन्छन्– ‘राजनीतिक आस्थाको आधारमा उनको माउ पार्टी एमाले बालेन गतिविधिका बारेमा तीब्र प्रतिकार गर्दै आइरहेको छ, तर यहाँ राजनीतिक आस्था भन्दा पनि भोको पेटको सवाल छ ।’

आफ्ना कर्मचारीहरु भोकभोकै मर्ने अवस्था आइसकेपछि उपमेयर डंगोलले उच्चस्तरीय पहलको आशामा कर्मचारीहरु रहेका छन् । तर यो विषयमा खासै चासो राखेर पहल नगर्नुले कर्मचारीहरुले उनको नियति माथि पनि ‘अर्थपूर्ण’रुपले हेरेका छन् ।

आफ्नै कर्मचारीको दैनिकी कहालीलाग्दो बन्दै गएपछि उपमेयरको मौनताको कारण खोज्दै कर्मचारीहरु मिडिया गुहार्न थालेका छन् । तर मिडियाले यसबारेमा उनको धारणा बुझ्न पटक–पटक मोवाइलमार्फत सम्पर्क गर्दा पनि उपमेयर डंगोल सम्पर्कमा आउन चाहिनन् ।

चैत महिनाको अन्तिमसम्म पनि महानगरका कर्मचारीले तलब खान नपाउने हो भने सफाई कर्मचारीहरुले फोहोर नउठाउने अन्य सम्पूर्ण कर्मचारीहरुले ‘पेन डाउन’ गरी महानगरपालिकाको सम्पूर्ण काम काज ठप्प पार्ने चेतावनीसहित आन्दोलनका लागि सडकमा उत्रिने तयारी गरेका छन् । त्यसपछि समस्यामा मूख्य भूमिका हुने त्रिपक्षीयका साथै उपमेयरसमेतलाई घुडा टेकाएर छाड्ने कर्मचारीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij