२०८३ साउन १० आइतबार

ताप्लेजुङको सुकेटार विमानस्थलबाट शनिवारदेखि उडान सेवा सुरू हुने

ई आर्थिक    बुधबार, चैत्र १३ २०८१
6.3K
Shares
ताप्लेजुङको सुकेटार विमानस्थलबाट शनिवारदेखि उडान सेवा सुरू हुने

ई–आर्थिक, फुङलिङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुन लागेको हो ।

नेपाल वायु सेवा निगमसँग रहेको दुई वटा जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्ध भएको थियो । पुस पहिलो साता काठमाडौंबाट जहाज उडे पनि खराब मौसमका कारण बिचबाटै फर्किएको थियो ।

तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएकाले आगामी शनिबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने तयारी भइरहेको नेपाल वायु निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालका लागि सातामा एउटा उडान राखिएको छ । ताप्लेजुङ–काठमाडौंको भाडा दर नौ हजार दुई सय ७० रुपियाँ निर्धारण गरिएको गुरुङको भनाइ छ ।

जिल्लामा हवाई उडान सञ्चालन नहुँदा गाडीमा यात्रा गर्न नसक्ने वृद्धवृद्धाहरू, उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान चाहने नागरिकहरू प्रभावित भएका थिए । यस विमानस्थलबाट ताप्लेजुङसहित पाँचथर तथा तेह्रथुमबाट समेत यात्रुहरूले आवतजावत गर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij