२०८३ साउन ९ शनिबार

ढाकाका कपडालाई अन्तर्राष्ट्रियकरण गरिदै, कर्मचारी पोसाक पनि अनिवार्य गरिने

ई आर्थिक    शुक्रबार, चैत्र ८ २०८१
6.5K
Shares
ढाकाका कपडालाई अन्तर्राष्ट्रियकरण गरिदै, कर्मचारी पोसाक पनि अनिवार्य गरिने

ई-आर्थिक, कोशी । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले  विराटनगरमा ढाका कपडा महोत्सव सुरु भएको छ ।  ढाका महोत्सव चैत ७ देखि ९ गते सम्म विराटनगरमा हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ई-आर्थिकलाई जानकारी दिए ।

कोशी प्रदेशका १४ वटै जिल्लामा ढाकाका कपडा तथा विभिन्न सामग्री उत्पादन गरिरहेका उत्पादकहरुलाई विराटनगरको जैन भवन परिसरमा जुटाएर महोत्सव मार्फत उत्पादन प्रर्वद्धन गरिने आयोजकले बतायो ।

महोत्सवमा ढाका कपडा, ढाकाबाट बुनेको झोला, सल, साडी, कोट, टाई, टोपी आदि अनेकौं वस्तुहरु प्रदर्शनका लागि राखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यमी विकास समितिको संयोजना आयोजना भएको महोत्सव चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका निजामती र शिक्षक कर्मचारीहरुको पोशाकको रुपमा ढाकाको कपडा प्रयोग गर्ने नीति प्रदेश सरकारले बनाउने घोषणा गरेका छन् । यो कार्यक्रम सफल भएमा आन्तरिक उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्र विकासमा योगदान पुग्ने मुख्यमन्त्री कार्कीले बताए ।

सोही कार्यक्रममा बोल्नुहुँदै सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले सरकारले पोशाकका लागि नियमित खर्च दिने गरेकोले स्वदेशी उत्पादन खरिद गरी ढाकालाई कार्यालय पोशाकको रुपमा सरकारले निर्णय लिन सक्ने बताएका छन्  ।  ढाका उत्पादनलाई औद्योगिक विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा ढाकाको उत्पादन अवस्था राम्रो रहेको र उत्पादन विस्तार गर्न सकिने आधार र जनशक्ति भएकोले यसलाई बजारीकरण गरी निर्यातसमेत गर्न सकिने बताए । त्यसका लागि महासंघले सरकारको साथ र सहयोग खोजेको उनको भनाइ थियो ।

अध्यक्ष राउतले ढाका महोत्सबबाट ढाकाका कपडालाई अन्तर्राष्ट्रियकरण गर्न थप सहयोग हुने इ-आर्थिकलाई बताए ।

कोशीमा ढाका महोत्सव आयोजना के का लागि ?

कोशीमा उत्पादन भएको ढाका विश्वभर चिनिँदै छ यसलाई थप प्रोत्साहन गर्न उक्त महोत्सब आयोजना गरिएको अध्यक्ष राउत बताउछन । कोशी प्रदेशको पहाडी जिल्लाका ढाका बुनाइ व्यावसायिक बन्दै छ ।  ‘तेह्रथुमे ढाका’ नेपालमै चर्चित छ । पछिल्लो समय यो तेह्रथुममा मात्रै सीमित रहेन  यो नेपालभरी प्रचलित रहेको छ उनले भने ।

उक्त महोत्सवमा  महिला उद्यमीले तयार गरेका मौलिक ढाका सामग्रीको प्रदर्शनी गरिने छ भने उक्त कार्यक्रमको आयोजना महासंघ प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा तथा महोत्सवलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले सहकार्य गरेको छ ।

कोशीमा ढाका महोत्सव आयोजना गर्नको उद्देय भनेको केशीमा उत्पादित ढाकालाई अझ बढि पहिचान बजारिकरण र अन्तर्राष्ट्रियरुपमा पहिचान दिन रहेको उनले बताए ।

‘ढाका कपडाको  उत्पादन गर्ने  उद्योग कोशी प्रदेशको सान  हो । यस प्रदेशमा नेपाली मौलिक पहिचान बोकेर ढाका उद्योगहरू खुलेका छन् । धेरै महिलाहरूले यस्ता उद्योगमा रोजगारी पाएका छन् भने केहीले राम्रा उद्यमी बनेर उद्योगलाई स्थापित पनि गरेका छन् । पछिल्लो समय बजारमा यसको माग बढ्दै गएको छ । महिलाहरूले यसलाई आधुनिक शैलीको बनाएर पनि विभिन्न पोसाक तयार पारिरहेका छन् । महिलाहरूले मिहिनेतले गरेको उत्पादन र बजारको आकर्षण बढिरहेको यो समयमा कोशी प्रदेशका जिल्लामा उत्पादित ढाका सबै स्थानमा ‘ब्राण्ड’ बनेर उभिनुपर्छ भन्ने हाम्रो मान्यता हो ‘उनले भने ।

नागरिकलाई आत्मनिर्भर बनाउने ढाकालाई सीमित बजारमा मात्रै राखेर हुँदैन । अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउदै  आफ्नो पहिचान बनाउनुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो,  उनी बताउछन् ।

त्यसैले हामी महोत्सवको आयोजना गरेर नै यसको प्रचार र बजारीकरणमा लागेका हौं ।  यसले ढाका कपडाको गुणस्तर अभिवृद्धि तथा सरोकारवालाहरू बीच समन्वय र सहकार्यलाई पनि अगाडि बढनेमा उनले बताए ।

महोत्सबमा मूख्य रुपमा ढाकाका कपडा र यसबाट उत्पादन गरिएका सामग्रीको प्रदर्शन हुनेछ । साथै  ढाका ‘फेब्रिक’को ‘फेसन सो’, ढाका उद्यम व्यवसाय प्रवर्धनका लागि संवाद कार्यक्रम, तानमा ढाका कपडा बुन्ने प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रम हुन्छन् उनी बताउछन् ।

महोत्सबले  ढाका कपडाको ‘ब्रान्डिङ’ गर्ने मद्त गर्ने छ । यसले ढाका कपडा  उद्योग  ग्रामीण भेगका महिलाहरू आफ्नै मौलिक प्रविधिको प्रयोग गरेर आर्थिक उपार्जनसँग जोडिएको छ । यो महोत्सव यहाँ पहिलोपटक आयोजना गर्न लागिएको हो । यसले ढाका कपडा बजारीकरणमा पक्कै पनि सहयोग मिल्नेछ । यसले व्यवसायीलाई धेरै फाइदा पुर्याउँछ उनले बताए ।

‘महोत्सवको पाटो भनेकै बजार खोजिदिने र बजारमाा देखाइदिने हो । यो महोत्सवले पक्कै पनि व्यापार बढाउन र अन्तर्राष्ट्रिय व्यापारमा सघाउँछ । अर्को कुरा रोजगारीलगायत उच्च शिक्षाको लागि अहिले नेपालीहरू संसारका विभिन्न देशमा पुगेका छन् । जहाँ–जहाँ नेपालीहरू पुगेका छन्, त्यहाँ नेपालको संस्कृति र परम्पराहरूको प्रचारप्रसार गरेका छन् , उनले भने ।

ढाकालाई अझै यसको गुणस्तर र बजारीकरणमा जोड दिने हो भने नेपालले यसको निर्यात क्षेत्रमा उल्लेख्य योगदान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij