ई–आर्थिक, काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रहरीको महानिरीक्षकमा थापालाई नियुक्त गरेको बताए । मन्त्रीपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आइजिपी बनेका हुन् ।
थापा २०५२ भदौ १९ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका हुन् । प्रहरीसम्बन्धी कानुनी व्यवस्था परिवर्तन नभए थापाले करिब ६ महिना ८९ हजार फौजको कमान्ड गर्नेछन् । उनी प्रहरीमा आउनुअघि स्थायी शिक्षक थिए । २०४८ सालमा स्थायी शिक्षकमा नाम निकालेका थापा भक्तपुरको कन्या माविमा पढाउँथे ।
प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उनले भक्तपुरकै ओम सेकेन्डरी बोर्डिङ स्कुलमा पनि अध्यापन गरे । बोर्डिङमा पढाउँदै गर्दा स्थायी शिक्षकमा विज्ञापन खुलेपछि थापाले भक्तपुरका आफ्ना सहपाठीसँगै जाँच दिएका हुन् । उनी भन्छन्, ‘स्नातक तह तेस्रो वर्षमा पढ्दै गर्दा निमावि तहको शिक्षकको परीक्षामा दुई नम्बरमा नाम निकालेको थिएँ ।’
कन्या माविमा पढाउँदै गर्दा प्रहरी इन्स्पेक्टरमा भर्ना खुल्यो । २०५० मंसिर १० मा प्रकाशित विज्ञापनअनुसार थापा इन्स्पेक्टर पदबाट प्रहरी सेवामा प्रवेश गरे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको पढाइ चल्दै थियो । सिपाडोल क्षेत्रका धेरै मानिस आर्मीमा थिए । सिपाडोल घर भएका शम्भु थापा प्रहरीको उच्च पदमा पुगिसकेका थिए । शैलेश थापा, प्रद्युम्न कार्की र सहकुल थापाहरूले लगाएको युनिफर्मको ‘चार्म’ले दीपक लोभिए । त्यसपछि नेपाल प्रहरीमा उनले लगातार कदम चालेको बताइन्छ । सेवाकालको केही महिनाका लागि भएपनि उनी नेपाल प्रहरीको कमाण्डर बनेरै छाडे ।