ई-आर्थिक, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आगामी फागुन ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि शेयर बाँडफाँड गरे सँगै सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।