नेपालको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानलाई कसरी वृद्धि गर्ने, स्रोत र सम्भावनालाई कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारका गतिविधि केन्द्रित रहेको उहाँको भनाइ छ । मन्त्री भण्डारीले भन्नुभयो, “रोजगारीका सम्भावना, साना, लघु, घरेलु उद्योगलाई अगाडि बढाउँदै उद्यमशीलता विकास गर्न सकेनौँ भने हाम्रो अर्थतन्त्र उठ्न सक्दैन, त्यसैले हाम्रा उद्योग, उत्पादन र व्यावसायिकतालाई अगाडि बढाउने विषयलाई केन्द्र भागमा राखेर सरकारले आफ्नो गतिविधि बढाएको छ ।”
वित्तीय क्षेत्रमा ब्याजदर एक अङ्कमा झरेका बेलामा लगानी प्रवद्र्धन हुन नसकेको भन्दै सरकारले द्रुतमार्गबाट केही कानुनहरु संशोधन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले धौवादी फलाम खानी राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई सञ्चालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।