२०८३ साउन १० आइतबार

१४ वर्षदेखि लम्सुवाघाट पुल निर्माण अलपत्र,स्थानीयलाई सास्ती

ई आर्थिक    बुधबार, माघ २३ २०८१
1.7K
Shares
१४ वर्षदेखि लम्सुवाघाट पुल निर्माण अलपत्र,स्थानीयलाई सास्ती

ई-आर्थिक, भोजपुर ।  उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ। करिब चार करोड रूपैयाँ खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो। लम्सुवाघाटमा विस २०६७ सालबाट पुल निर्माण थालिएको थियो।

६ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए। ‘पुल निर्माणको काम १४ वर्षबाट अलपत्र छ’ वडाध्यक्ष विसुन्केले भने, ‘राज्यको करिब चार करोड रूपैयाँ खर्चपछि काम अलपत्र पारिएको अवस्था छ। यो पुल बनिदिए स्थानीयवासीलाई राहत हुने थियो।’

यहाँ एकसय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो। निर्माणको क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनु पर्ने षडानन्द ६ का स्थानीयबासी सीताराम लम्सालले बताए। पुक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ।

‘निर्माणको क्रममा लम्सुवाघाट पक्की पुल अलपत्र बनेको अवस्था छ’, उनले भने, ‘पुल बन्ने आशामा बसेका हामी निराश बनेका छौँ। राज्यले यो पुल निर्माणमा ध्यान दिन आवश्यक छ।’

निर्माण कम्पनीले २०६७ सालदेखि पुल निर्माण सुरु गरेको थियो। सम्झौताअनुसार पुल २०७० सालमा सक्नुपर्ने थियो। तर निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि राज्यको तर्फबाट ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटार प्रमुख शुभाञ्जन दाहालले जानकारी दिए।

२०७८ सालमा ठेक्का रद्द प्रक्रियामा गएपछि निर्माण कम्पनीले हालेको मुद्दा कार्यालयको पक्षमा फैसला भएको उनको भनाइ छ।

फैसलापछि पनि निर्माण कम्पनीले क्षतिपूर्तिको माग गर्दै पुनः अदालतमा रिट दायर गरेको र अदालतले उक्त रिट सदर गरेकाले तीन सदस्य मध्यस्तकर्तामार्फत समस्या समाधन प्रक्रियामा रहेको उनको जानकारी दिए।

‘काम नभएपछि राज्यको तर्फबाट ठेक्का रद्द गरिएको अवस्था हो’, प्रमुख दाहालले भने, ‘उक्त विषयमा निर्माण कम्पनीले मुद्दा हालेको अवस्था थियो। दुवै मुद्दा कार्यालयको पक्ष फैसला भएको छ। पुनः निर्माण कम्पनीले क्षति पूर्तीको माग गर्दै रिट हाल्यो। उक्त रिट अदालतले सदर गरेको छ। त्यसको नजिता आएपछि मात्र थप प्रक्रिया अघि बढ्छ।’

अहिले कम्पनीको धरौटीबापतको ७७ लाख रूपैयाँ रकम रोक्का रहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij