लक्ष्मण फुयाल, काठमाडौं । मानवीय जीवन तथा सम्पत्तिमा विभिन्न प्रकारका प्राकृतिक प्रकोप, विपत्ति र जोखिमहरुको सम्भावना रहेको हुन्छ । मृत्यु, भुकम्पबाढी, पहिरो, दुर्घटना, आगलागी आदि जस्ता जोखिमबाट मानव जीवन तथा सम्पत्तिमा क्षति हुने सम्भावना हुन्छ । यस्तो अनिश्चित जोखिमबाट हुने आर्थिक नोक्सानीबाट बच्नको लागि जोखिम हस्तान्तरण गर्ने प्रकृयालाई नै बीमा भनिन्छ ।
बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चितता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बिमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ । बीमा विमित र विमकका बीच गरिने एक करार पत्र नै बीमा हो ।
भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानुनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।
‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘जिम्मेवारी लिनु ।’ त्यसैले विश्लेषकहरूले बीमालाई ‘जोखिम हस्तान्तरण’ को रूपमा व्याख्या गरेका छन् ।
लघुबीमाको परिचय
नेपाल बीमा प्राधिकरणले न्युन आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न हरेक प्रदेशमा एक÷एक वटा गरी सातवटा लघुबीमा कम्पनी स्थापनाका लागि प्राधिकरणले सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । स्वीकृत प्राप्त गर्ने कम्पनीहरुमा तिन लघु जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनी रहेका छन् ।
लघुबीमा भनेको न्यून आय भएको वर्गहरुलाई भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गरिने बीमा हो । ठूला बीमा कम्पनीहरुले पनि लघुबीमा गरिरँहदा त्यसको प्रभावकारित हुन नसक्दा तर त्यति प्रभावकारी नेपाल बिमा प्राधिकरणले छुट्टै बीमा कम्पनी स्थापना ग¥यो त्यो हो लघुबीमा कम्पनी अर्थात माइक्रो इन्स्योरेन्स कम्पनी हुन् ।
न्यून आय भएका वर्ग पिछडिएको क्षेत्रको बासिन्दा वा सिमान्तकृत वर्गलाई लक्षित गर्दै बीमा व्यवसाय गर्नको लागि लघुबीमा निर्देशिका जारी भएको थियोे । त्यही निर्देशिकालाई टेकेर लघुबीमा कम्पनी स्थापना भएका हुन् । ठुला कम्पनीले पनि लघुबीमा गरिरहेको अवस्था छ । न्यून आय भएका वर्ग र पिछडिएको लघुबीमा भित्र जीवन, निर्जीवन बीमा कम्पनीहरु छन् । उनीहरुले लघुबीमामा पनि निर्जीवन र जीवन बीमा गर्ने गरेका छन् । नेपालमा लघुबीमा सञ्चालन गर्न ७५ करोड चुक्ता पुँजी तोकेको छ । ती लघुबीमा कम्पनीहरुले ५० लाखसम्म सीमा भित्र बसेर आफ्नो व्यवसाय सञ्चालन गर्न पाउछन् ।
नेपालका दुरदराजमा बीमाको पहुँच पुग्न सकेन भनेर सरकारले शहरमा मात्र बीमा केन्द्रित नहोस भनेर छुट्टै अवधारणा ल्याउदै विशेष रुपमा ग्रामीण भेगका न्यून आय भएका व्यक्तिहरुलाई समेट्न लघुबीमा कम्पनीहरु अगाडि सारेको हो ।
लघुबीमाको पूँजीको आकार पनि सानो हुन्छ र बिमाङ्क पनि थोरै नै हुन्छ । लघुबीमा निर्जीवनमा पाँच लाखदेखि पचास लाखसम्मको बिमाङ्क तोकिदिएको छ भने जीवन बीमामा पाँच लाख मात्र सिमित गरिएको छ । अहिले लघुबीले दुरदराजमा पुगेर सेवा प्रदान गरिरहेका छन् ।
देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघसंस्थासँग समन्वय गरी लघु बीमा सेवालाई स्तरीय तथा भरपर्दो बनाउँदै, न्यून आय वर्ग तथा दूरदराजका नागरिकमा बीमाको पहुँच विस्तारका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित संघसंस्थासँग सहकार्य र समन्वय गरी समावेशी बीमाको अवधारणालाई मूर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुँचबाहिर रहेका वर्ग समुदायलाई बीमाको दायरामा समेटी उनीहरुको आर्थिक भविष्यलाई सुनिश्चित गर्ने, लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखी नेपालमा हाल ७ वटा लघु बीमा (जीवन र निर्जीवन) कम्पनी सञ्चालनमा छन्।
लघुबिमाको हालको समग्र अवस्था
नेपालमा लघुबीमाको इतिहास लामो छैन् । एक बर्ष अघि मात्र स्थापना भएका लघुबीमा कम्पनी भर्खरै बामे सर्दै गरेको अवस्था रहेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धि सेवा दिइरहेका छन् । त्यसैगरी नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स निर्जीवन बीमा सम्बन्धि सेवा प्रदान गरिरहेका छन् ।
लघुबीमाको आवश्यकता
माइक्रो इन्स्योरेन्सको अवधारण भनेको दुरदराजका न्यून आयभएका व्यक्तिहरुलाई इन्स्योरेन्स सेवाको पहुँच पु¥याउने हो । दुरदराजका सीमान्तकृत व्यक्तिहरुको जीवनस्तर माथि उठाउन यी लघुबीमा कम्पनीहरुको आवश्यकता महशुस गरिएको हो ।
उनीहरुले त्यहाँसम्म पुगेर सेवा लिन्छन भन्ने आवश्यकता महसुस भएर माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना भएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी बताउछन् ।
माइक्रो इन्स्योरेन्सले न्युन आय वर्गको जिवन तथा सम्पत्तिको सुरक्षा गर्न, वित्तिय समावेशिता प्राप्त गर्न, आर्थिक विपन्नता न्यूनिकरण गर्न, अनिवार्य बचत तथा ऋण लिने सुविधा प्राप्त गर्न, आफू तथा आफ्नो परिवारको आर्थिक अवस्थालाई यथास्थितिमा राख्न मद्त गर्ने विश्वास लिन्छन् ।
नेपालमा लघुबीमा : तथ्य र तथ्यांक
नेपालमा हाल ७ वटा लघुबीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये ३ वटा जीवन तथा ४ वटा निर्जीवन लघुबीमा कम्पनीहरु रहेका छन् ।
जीवन बीमा सम्बन्धि सेवा दिने लघुबी कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्म १ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यो तथ्यांक आएर पुसमा केही बढाएका छन् । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुससम्म उक्त प्रिमियम बढेर १ अर्ब २९ करोड पुगेको हो ।
त्यसैगरी निर्जीवन लघुबीमा कम्पनीहरुले मंसिरमा ३५ करोड प्रिमियम संकलन गरेकोमा यसलाई बढाउदै पुस मसान्तसम्म ४३ करोड प्रिमियम संकलन गर्न सफल भएका छन् ।
त्यस्तै चालु आर्थिक वर्षको मंसिरसम्ममा जीवन बीमा सेवा प्रदान गर्ने लघुबीमा कम्पनीहरुले १,३५,६०,००० पोलिसि बेचेका थिए । यो संख्या बढाएर तिनीहरुले पुसमा १,७६,५०,००० पु¥याएका छन् । त्यसैगरी निर्जीवन बीमा सेवा प्रदान गर्ने लघुबीमा कम्पनीहरुले भने १३,८०,००० मात्र पोलिसी बेचेका थिए । यसलाई बढाएर ती कम्पनीहरुले पुसमा १७,५०,००० पोलिसी बेचेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । तीनवटा जीवन लघुबीमा १८९ कर्मचारीहरु कार्यरत छन् भने चारवटा निर्जीवन लघुबीमामा ३३४ जना कर्मचारी कार्यरत रहेका छन् ।
नेपालमा लघुबीमाको संभावना र भविष्य
नेपालको ग्रामीण भेगको आर्थिक अवस्था स्थिर राख्ने विकल्प भने लघुबीमा हो । लघुबीमा ग्रामीण भेगका कृषि, पशुपालन देखि सम्पत्तिहरुको बीमा गरेर त्यहाको जनजीवनलाई माथि उकास्न मद्दत गरेको छ । अब हरेका नेपालीहरुलाई सक्षम तथा सबल बनाउन लघुबीमालाई हरेक गाउँका कुनाकाप्चामा पु¥याउन आवश्यक छ ।
बीमा प्राधिकरणले लघुबिमालाई जीवन लघुबिमा वा निर्जीवन लघुबिमालाई सिमान्त वर्गसम्म पुगोस भनेर कुनै कुनै बिमा प्रिमियमदरमा अन्य भन्दा सस्तोदरमा उपलब्ध गराएको नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले बताए ।
भर्खरै वामे सर्दै गरेको माइक्रो इन्स्योरेन्सहरुलाई अन्य ठूला कम्पनीहरुको दररेट भन्दा बीमाको प्रिमियमदरमा माइक्रोलाई कम रेट तोकिदिएको छ । यसकारणले पनि लघुबीमाप्रति ग्रामीण भेगका ग्राहकहरु आकर्षित भइरहेका छन् । विभिन्न लघुबीमाहरुले बजारमा शेयर तथा आइपिओमार्फत सर्वसाधारणलाई अवसर प्रदान गर्दा कम्पनीको आम्दानीमा केही बृद्धी गर्न सहयोग पुगेको छ ।
सिमान्तकृत स्थान र दुरदराजमा रहेका, न्यून आए भएका सबै व्यक्तिहरुलाई बिमा समेट्न सरकारले लघु बीमा कम्पनीको अवधारणा ल्याएको थियो । माइक्रो बिमा कम्पनीहरुले साना क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका छन् । सरकारले लघुबिमा कम्पनीहरुलाई कृषि सेवाको बीमा गर्न अनुमति प्रदान गरेको छ । कृषि बजारमा सरकारले दिने कृषि अनुदानमा बीमामा माइक्रो इन्स्योरेन्सबाट गरेमा ८० प्रतिशत अनुदान दिने भने अन्य ठूला बीमा कम्पनीहरुबाट गरेमा ५० प्रतिशतसम्म अनुदान दिने तोकेको छ । किसानहरुको लागतमा मात्र २० प्रतिशत मात्रै पर्ने हुँदा उनीहरु माइक्रो इन्स्योरेन्सतर्फ आकर्षित हुने गरेको प्रमुख कार्यकारी अधिकृत रिमालको भनाई छ ।
ग्राहकले माइक्रो इन्स्योरेन्सलाई छान्ने भनेको दररेट मूख्य कारण हो । लघुबीमाको सम्पत्ति बिमामा दररेट सस्तो छ । त्यसैगरी सामूहिक दर्घटना बीमामा पनि दररेट सस्तो छ । अन्य प्रडक्टहरुमा पनि साना क्षेत्रहरुमा बजारिकरण भएका छन् । त्यसैले भोलिका दिनमा लघुबीमाको नेपालमा भविष्य उज्वल रहेको छ ।
लघुबीमाका चुनौती
नेपालका लघुबीमा कम्पनीहले समयअनुसार सूचना प्रबिधीमैत्री बनाउन ध्यान दिएको छ । विभिन्न माइक्रो इन्स्योरेन्सले पूर्णरुपमा डिजिटल सिस्टम अवलम्बन गरेको माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी बताउछन् । प्रायजसो सबै माइक्रो इन्स्योरेन्सहरु डिजिटल प्रविधिमा आधारित भएर सञ्चालित भएका उनले बताए । पोलिसी लिन कुनै पनि अफिमा आउनुपर्दैन, त्यस्तै समय पनि कुर्नुपर्ने छैन्, प्रविधिको प्रयोग गरेर २४औं घन्टा सेवा डिजिटल प्रविधि मार्फत बिमा सेवा लिन सकिन्छ । विशेषगरी ग्रामीण भेगमा मान्छेहरु काम गर्न दिउँसो जाने हुदा बीमा पोलिसी बिहान तथा बेलुका फुर्सदको समयमा डिजिटलबाट गर्ने सक्ने अवस्था सिर्जना गरेको प्रमुख कार्यकारी अधिकृत भण्डारी बताउछन् ।
लघुबीमा क्षेत्रको कार्यक्षेत्र विशेष रुपमा ग्रामिण भेग हो । बिमा प्राधिकरणको सोचाई लघुबिमा कम्पनीहरुलाई सिमान्तकृत क्षेत्रमा पु¥याउनु हो । त्यहाँ भएको मार्केट लघुबिमा कम्पनिहरुले हेरिदिने हो । उहाँहरुले लघुबिमा कम्पनीलाई कृषिमा ८० प्रतिशत अनुदान दिने व्यवस्था ल्याएको छ । भैरहेका सेवाहरुको दररेट अरुको भन्दा केहि प्रडक्टहरुमा सस्तो गरिदिएको छ । बिमा प्राधिकरणले अझ सहज तरिकाले गरिदिनु पर्ने इन्स्योरेन्सहरुले माग गर्दै आएका छन् । भ्याट छुटको व्यवस्था गर्दा किसानहरुलाई राहत होला र कतिपय बिमा कार्यक्रमहरु लघुबिमाले मात्रै गर्न पाउने व्यवस्था गरिदिए माइक्रो इन्स्योरेन्स फस्टाउने अवस्था रहला । बजार ठूलो छ बिमा प्राधिकरणले कुनै निश्चित क्षेत्र लघुबिमालाई दिंदा पनि माइक्रो इन्स्योरेन्सलाई पुग्छ । यसले गर्दा स्थायित्व बनाउन झन सहयोग पुग्ने माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल बताउँछन् ।
लघुबीमा कम्पनीको उद्देश्य आम सर्वसाधारणहरुलाई क्षतिका कारण गरिवी हुनबाट रोक्ने हो । यस्तो अवस्थामा लघुबीमाले थप गरिवी हुनबाट बचाउन योगदान दिन सक्छ । ग्रामीण भेगमा बीमा साक्षरता कार्यकमहरु ल्याएर डिजिटलमार्फत धेरै भन्दा धेरै जनताहरुलाई जोड्न सकिन्छ । ग्रामीण भेगमा बीमामैत्री बनाउन बीमा सम्बन्धि शिक्षा, जनचेतनाका साथै प्रविधिमैत्रि बनाउन आवश्यक रहेको छ ।
नेपालका प्रायः युवाहरु विदेशिएका छन्, कि शहर केन्द्रित छन् । गाँउमा बुढाबुढी मात्रै बाँकी छन् । नेपालको समस्या यही छ । गाँउघरको आधा जनसंख्या पढन सहर आएका हुन्छन् । शहरी क्षेत्रमा जाने प्रचलनले गर्दा पनि बिमा क्षेत्रमा प्रभाव परेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ बताउँछन् ।
बीमा प्राधिकरणले समायानुकुलको नीति नियम ल्याउने तथा कम्पनीको उचित नियमन गर्न आवश्यक छ ।
नेपालका सबै भूभागमा बिमाका प्रोडक्टहरु पु¥याउन माइक्रो इन्स्योरेन्सको भूमिका छ । माइक्रो इन्स्योरेन्सले त्यो जिम्मेबारी पूरा गर्न सक्छ ।
नेपालका लघुबीमाहरु
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स स्थापना भएको लगभग २० महिना भयो । अर्थात २०८० मा यो बीमा कम्पनी स्थापना भएको हो । यस बीमा कम्पनीले गत वर्ष लगभग १० करोडको बिजनेस गरेको थियो । यसपालि लघुबिमा कम्पनीले ५० करोडको बिजनेस गर्ने लक्ष्य लिएको छ । त्यस मध्ये १९ करोड बिजेनस कलेक्सन भैसकेको छ । क्रेस्ट माइक्रो इन्स्योरेन्सको सबै प्रदेशलगायत नेपालभर २३ वटा शाखा कार्यालयहरु रहेका छन् । यसको रजिस्ट्रार कार्यालय कर्णाली प्रदेशमा रहेको छ । यस बीमा कम्पनीले १ हजार २३ एजेन्टमार्फत ६० हजार पोलिसी विक्री गर्न सफल भएको छ । चालु आ.व.भित्र कम्पनीले १ लाख ५० हजार पोलिसी विक्री गर्ने लक्ष्य राखेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले २०८० असार २२ मा गते व्यवसायिकरुपमा सुरु गरेको थियो । म्यादी जीवन बीमा योजनाबाट सुरु गरेको यस कम्पनीले दीर्घायु बचत जीवन बीमा, साना बचत बीमा योजना जस्ता आकर्षक बीमाका योजनाहरु ल्याएको छ । यो बीमा कम्पनी पहुँच देशभरि पुगिसकेको छ । कम्पनीका २६ वटा शाखा कार्यालयहरु मार्फत सर्वसाधरणलाई सेवा पु¥याउदै आएको छ । कम्पनीले ३ लाख २८ हजार ९ सय ६७ जनालाई पोलिसी विक्री गरिसकेको छ । कम्पनीमा ९ सय २५ एजेन्ट जोडिएका छन् ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको स्थापना २०८० सालमा भएको हो । यस कम्पनीले हालसम्म ६७ हजार ९ सय ४० पोलिसी विक्री गर्न सफल भइसकेको छ । कम्पनीका १३ वटा शाखा कार्यालय रहेका छन भने १३ सय ४६ एजेन्ट सक्रिय छन् । कम्पनीमा रहेका पाँचवटा आकर्षक बीमा योजनाहरुले सेवाग्राहीलाई आकर्षित गरेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स

नेपाल माइक्रो इन्स्योरेन्स संचालन भएको करिब दुई वर्ष भएको छ । यो कम्पनी २०७९ भदौमा सञ्चालनमा आएको थियो । माइक्रो इन्स्योरेन्सतर्फ नेपालमा सञ्चालन अनुमतिपत्र प्राप्त गर्ने यो पहिलो निर्जीवन लघुबीमा कम्पनी पनि हो । कम्पनीमा १७ जना एजेन्ट र ११ शाखामार्फत नेपालभरी लघुबीमा सेवा उपलब्ध गराइहरेको छ । कम्पनीले ७५ हजार ६ सय १६ जना भन्दा बढीको सम्पत्तिको लघुबीमा गराइसकेको छ । त्यसैगरी कम्पनीले एक करोड ५५ लाख रुपैयाँ बराबरको एक सय ६० वटा दाबी भुक्तानी समेत गरिसकेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १० करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स स्थापना २०७९ पुस महिनामा स्थापना भएको हो । यो निर्जीवन लघुबिमा कम्पनीको प्रधान कार्यालय धनगढीमा रहेको छ भने प्रदेश कार्यालय गुसिङ्गाल ललितपुरमा रहेको छ । यस लघुबिमा कम्पनीले आफ्नो सेवालाई हालसम्म पूर्वको फेदिमदेखि पश्चिमको दार्चुलासम्म फैलाएको छ । कम्पनीका १७ ओटा शाखाकार्यालय रहेका भने १५ ओटा तेस्रो पक्ष बीमा काउन्टर गरी कुल ३२ वटा युनिटहरुमार्फत सेवा प्रदान गरिरहेका छ ।
कम्पनीले यो आर्थिक वर्षमा २० करोड भाथि प्रिमियम संकलन गर्ने योजना बनाएको छ । गाँउ तथा शहर दुबै केन्द्रित गरेको छ । कम्पनीले अहिसम्म ५०० भन्दा माथि ‘क्लेम सेटल’ गरिसकेको छ ।
कम्पनीले अहिलेसम्म ९ करोड माथिको प्रिमियर संकलन गर्न सफल भइसकेको छ । कृषि बिमा पोलिसी अन्तर्गत पशुबिमा र बाली बीमा अन्तर्गत तरकारी बिमाबाट सुरु गरेको छ । त्यसपछि कृषिका ३१ वटै शिर्षकहरुमा काम सञ्चालनको तयारी गरेको छ ।
स्टार माइक्रो इन्स्योरेन्स

२०८० सालमा स्थापना भएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय भानुचोक जनकपुरमा रहेको छ । यो थप समावेशी र निष्पक्ष बीमा परिदृश्य सिर्जना गर्ने दृष्टिकोणबाट स्थापना भएको संस्था हो । यस बीमा कम्पनीले कम आय भएका र कमजोर समुदायहरूसहित धेरै व्यक्तिहरूलाई प्रायः बीमाको सुरक्षा प्रदान गरिरहेको छ । कम्पनीले सम्पत्ति सम्बन्धि बीमा गर्ने गरेको छ । जसमा घर, कारखाना, पसल, आदि जस्ता सम्पत्तिहरूको विस्तृत दायरालाई समेट्दै आएको छ । त्यसैगरी मोटर बीमा अन्तर्गत मोटर वहान अर्थात कार, मोटरसाइकल बीमा गराउने गरेको छ । यसमा पूर्ण र तेस्रो पक्ष सवारीसाधनको बीमा गर्ने कार्य गर्दै आएको छ ।
ट्रस्ट माइक्रो इन्स्योरेन्स

२०८० सालमा भएको ट्रस्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमा सुविधा प्रदान गर्दछ । कम्पनीको केन्द्रिय कार्यालय बुटवलमा रुपन्देहीमा रहेको छ भने प्रादेशिक कार्यालय काठमाडौंको कमलपोखरीमा छ । यस कम्पनीका शाखा कार्यालयहरु नेपालभर रहेका छन् । नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमा समाधानका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै यस लघुबीमाले सेवा पु¥याउँदै आएको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्सले नेपालको अग्रणी लघु बीमा प्रदायक हुन हरेक समुदायलाई अटल विश्वास र विश्वासको साथ राष्ट्रलाई अगाडि बढाउने लक्ष्य राखेको छ ।