ई–आर्थिक, काठमाडौं । सरकारी जग्गा अतिक्रमित गरी बनाइएका भवनमा डोजर चलेको छ । काठमाडौँ महानगरपालिका ७ स्थित धोबी खोला कोरिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरूमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले डोजर चलाएको हो ।
प्राधिकरणको टोलीले काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालय नजिक रहेका भवनहरू आज आइतवारदेखि भत्काउन सुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ ।
सो क्रममा स्थानीयहरूले केहीबेर अवरोध समेत गरेका थिए । मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।
धोबी खोला र बागमती नदी किनारमा करिब पाँच सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ ।