ई-आर्थिक, काठमाडौं । नेपाल निर्माण व्यवसयी महासङ्घले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएका छन् ।
निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्यवृद्धि गरेको तथा भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको महासङ्घका अध्यक्ष रवि सिंहले बताए ।
उनले निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको जानकारी दिए । उनले प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु, राजनीतिक दलका अध्यक्षहरुलाई माग पूरा गर्न १५ दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने बताएका छन् । उनले व्यवसायीका माग सम्बोधन नभए महासङ्घले आगामी माघ १८ गते काठमाडौंको माइतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरिसकेको बताए ।
‘‘हामीले हाम्रा मागहरु राख्दै नेपाल सरकारका मन्त्रीज्यूहरुलाई ज्ञापन पत्र बुझाउँदैछौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएका छौं । हामीले मुख्यसचिव एवम् भौतिक पूर्वाधार मन्त्रालयका सचिवज्यूलाई समेत ज्ञापन पत्र बुझाइसकेका छौं । आजै २ बजे उपप्रधान एवम् शहरी विकास मन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउँदैछौं । सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि आजै ज्ञापन पत्र बुझाउने हामी तयारी गर्दैछौं ।,’’
‘‘हामीले बढीभन्दा बढी नेपाल सरकारका मन्त्रीज्यूहरुलाई ज्ञापन पत्र बुझाउने र नेपालका राष्ट्रिय पार्टीका सभापतिज्यूहरुलाई समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।’ उनले भने ।