ई–आर्थिक, काठमाडौं । हालै आएको अबिरल बर्षापछिको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या बढिरहेको छ । तीनजना थपिएर मृत्यु हुनेको संख्या दुई सय ४४ जना पुगेको छ । त्यसैगरी बाढी पहिरोमा परी एक सय ७९ जना घाइते भएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।
बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको पनि मन्त्रालयले जनाएको छ ।
विपद् र मृत्यु भएका परिवारलाई सरकारले दिने क्षतिपुर्ति कोषमा सहयोग दाताहरुले धमाधम सहयोग गरिरहेका छन् ।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।
बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको मन्त्रालयको भनाई छ ।