ई–आर्थिक, काठमाडौं । कोभिड र विश्व आर्थिक मन्दिले थलिदै आएको पर्यटन क्षेत्र पुनः पुरानै लयमा फर्कदै आएको छ । विश्वकै अर्थतन्त्र सुधार भएसँगै नेपालमा विदेशी पर्यटक आगमनमा सुधार भएको छ ।
कोभिड–१९ पछि पर्यटन क्षेत्रमा मारमा परेको थियो । ४ वर्षपछि पर्यटन आगमन पुरानै लयमा फर्किएको छ । नेपालमा विदेशी पर्यटक आगमन कोभिड अघि भन्दा बढ्दा थालेको छ ।
पर्यटन बोर्डको तथ्याङ अनुसार अप्रिल महिनामा एक लाख ११ हजार तीन सय ७६ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिल पर्यटकको आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको हो । २०२३ को अप्रिलमा ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएका थिए भने २०२४ को अप्रिलमा भने बढेर एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् ।
पर्यटन बोर्डको तथ्याङ हेर्ने हो भने कोभिड भन्दा अघि २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए । तर कोभिडपछि पर्यटकको संख्या बढ्न सकेको थिएन । नेपालमा आउने पर्यटकमा सबै भन्दा धेरै भारतीय पर्यटक छन् भने दोस्रोमा अमेरिका र तेस्रोमा चिनियाँ पर्यटक रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अप्रिलमा नेपाल भारतीय पर्यटक ३० हजार एक सय ५८ आएका छन् । यस्तै अमेरिकीबाट नौ हजार नौ सय ४७ पर्यटक र चीनबाट नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका हुन् ।
बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बंगलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७० पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को मार्चमा पनि एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटक बढेसँगै होटलको व्यपार बढेको छ। होटल एसोसिएशन अफ नेपालका अध्यक्ष विनायक शाह भने ‘पर्यटक आगमनको संख्या बढ्दा होटल बुकिङ समेत बढेको छ । सरकारले राम्रो वातावरण बनाउन सकेन नेपाल अबको डेस्टिनेसन बनाउन सकिने छ । जसरी पाँच तारे र चेन होटलको आगमन बढेको यसले पर्यटन आगमन आगामी दिनमा बढ्ने छ ।’
ठमेल बिकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने ‘पर्यटन आगमनले ठमेलमा चहलपहल बढ्दो छ । नयाँ वर्षदेखि २४ औ घण्टा ठमेल खुल्ला गरेको संन्देशले पर्यटक क्षेत्र उत्साहित भएको छ । अब पर्यटकको बसाई लम्बाउने तर्फ राज्य र व्यवसायी लाग्नु पर्ने छ ।’ विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्दा पर्यटन क्षेत्र उत्साहित छ ।