काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बिच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार/भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत(सीईओ) रश्मी पन्त र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ)निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र एनसिएचएलबिच भएको सम्झौता बमोजिम अन्तर्देशीय कारोबार र क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाख सम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाईएको छ ।
हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुईलाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोबार ५० हजारसम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ । यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम् लाभ उठाउनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।