२०८३ साउन ११ सोमबार

राष्ट्र बैंकद्वारा पाँच वित्तीय संस्थालाई कारबाही, कुन-कुन परे कारवाहीमा ?

ई आर्थिक    बुधबार, फाल्गुन २ २०८०
3.5K
Shares
राष्ट्र बैंकद्वारा पाँच वित्तीय संस्थालाई कारबाही, कुन-कुन परे कारवाहीमा ?

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ ।

मुक्तिनाथले व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य उद्देश्यमा खर्च गरेको पाइएको र उक्त रकम पछि फिर्ता गरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै सप्तकोशी विकास बैंक सञ्चालक समिति र सीईओलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । संस्थाको स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपछि पनि स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समिति बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएकाले सचेत गराइएको बैंकले जनाएको छ ।

सप्तकोशीका सीईओले कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा १२ हजार ८ सय ४६ रुपैयाँ जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले साउन र भदौमा सीडी रेसियो ९० प्रतिशत बढी गराएकाले थप २ लाख ४२ हजार जरिवाना गरिएको छ ।

त्यसैगरी प्रोग्रेसिभ फाइनान्सले चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रक्रिया अपनाइ जोखिमपूर्ण कर्जा दिएको पाइएकाले सीईओ र सञ्चालक समितिलाई सचेत गराउँदै उपयुक्त निर्देशन दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

गुडविल फाइनान्सले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकम सुदपयोगिता सुनिश्चित नगरी महर्जन बिजनेस एसोसिएट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएकाले सञ्चालक समिति र कार्यकारी प्रमुखलाई उपयुक्त निर्देशन दिइएको छ ।

त्यस्तै गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गत आर्थिक वर्ष २०७९र८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी राष्ट्र बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले सीईओलाई सेचत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij