काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य अंकित मूल्यभन्दा पनि कम कायम भएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७४ रूपैयाँ कायम भएको हो । कम्पनीको आईपीओ खरीद गरेका लगानीकर्ता पनि यतिबेला प्रतिकित्ता २६ रूपैयाँ घाटामा रहेका छन् । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले अंकित मूल्यभन्दा कमकै खुलामूल्य तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ७२ रूपैयाँदेखि अधिकतम २०६ रूपैयाँसम्मको मूल्य रेञ्ज तोकेको थियो । अधिकतम मूल्य २०६ रूपैयाँ तोकेको भएपनि कम्पनीको पहिलो कारोबार भने ७२ रूपैयाँ १० पैसामा भएको थियो ।
यस कम्पनीले २०७७ साल भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो । आईपीओ विक्री भएको एक साताभित्र बाँडफाँट गर्न सफल कम्पनीको आईपीओ ८ हजार ७० जनाले १० कित्ताका दरले प्राप्त गरेका थिए । आईपीओ बाँडफाँटपछि सूचीकृत भएकै दिन २०७७ साल असोज ८ गतेदेखि कम्पनीको शेयर कारोबार मर्जर प्रयोजनका कारण रोक्का भएको थियो । स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रयोजनका लागि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । समाज लघुवित्तले स्वस्तिक लघुवित्तसँग मर्जरका लागि २०७७ साल असोज ५ गते प्रारम्भिक सम्झौता गरेको थियो । यी दुई कम्पनीबीच समयमै मर्जर प्रक्रिया पुरा हुन नसक्दा लामो समयसम्म शेयर कारोबार रोक्का हुन पुगेको थियो । अन्तिममा मर्जर प्रक्रिया भाडिएसँगै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीका आधारभूत शेयरधनी वाहेकको शेयर कारोबार २०८० साल असार ३१ गतेदेखि फुकुवा गरिएको हो । २०७७ साल असोज ८ गतेदेखि रोक्का भएको कम्पनीको शेयर कारोबार २०८० साल साउन १ गतेदेखि सुरू भएको हो ।
शेयर कारोबार रोक्का रहेकै अवस्थामा कम्पनीले २०८० साल असार १७ गते आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित उक्त लाभांश कम्पनीले साउन ३१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । पाँचौ साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २१ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेको थियो । बोनस शेयर प्रयोजनका लागि कम्पनीको मूल्य समायोजन समेत भएको थियो । नेप्सेले बुक क्लोजको आधारमा बुक क्लोजको अघिल्लो कारोबार दिन कायम अन्तिम शेयरमूल्य प्रतिकित्ता ७४ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरी १४ दशमलव २५ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता ६५ रूपैयाँ ५६ पैसा तोकेको थियो । समायोजनपछिको मूल्यको तुलनामा भने कम्पनीको शेयरमूल्य पछिल्लो कारोबार दिन बढेको हो ।
कम्पनीको वित्तीय अवस्थालाई हेर्दा भने नाफामै रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस कम्पनीले ७२ लाख ८२ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत आर्थिक वर्ष भने कम्पनीको खुद नाफामा कमि आएको हो । गत वर्ष कम्पनीले ५ करोड ७८ लाख रूपैयाँभन्दा बढी व्याज आम्दानी गरेको छ । कर्जा सापटी २२ करोड ३५ लाख रूपैयाँभन्दा बढी लिएको कम्पनीको निक्षेप संकलन भने १४ करोड ४६ लाख रूपैयाँभन्दा बढी छ । कर्जा प्रवाह भने कम्पनीले १२ महिनामा ३९ करोड ९९ लाख रूपैयाँभन्दा बढी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३७ रूपैयाँ ९१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२४ रूपैयाँ ३१ पैसा रहेको समाचार आर्थिक अभियानले लेखेको छ ।