२०८३ साउन २३ शनिबार

हिमालयद्वारा काठमाडौं–बेइजिङ–काठमाडौंको नियमित उडान सञ्चालन

ई आर्थिक    आइतबार, असार १० २०८०
4.6K
Shares
हिमालयद्वारा काठमाडौं–बेइजिङ–काठमाडौंको नियमित उडान सञ्चालन

ई–आर्थिक, काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं र बेइजिङबीचको नियमित उडान सञ्चालन गर्ने भएको छ । यस नयाँ सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ । यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्सको विश्वास रहेको छ ।

काठमाडौं–बेइजिङ–काठमाडौं रुट जुन २४, २०२३ देखि हरेक शनिबार सञ्चालनमा आएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरे । उनको उपस्थिति नेपाल सरकारको दुवै क्षेत्रको सुधार र पर्यटन विकासतर्फ गहिरो ध्यानाकर्षणको प्रतीक भएको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सको पहिलो उडान एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने छ । उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ । साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानीय समय अनुसार दिउँसोे ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण हुने एयरलाइन्सले जनाएको छ ।

‘काठमाडौं र बेइजिङ बीचको निर्धारित उडान शुरु गर्न पाउँदा हामी हर्षित छौं, यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्नेहुँदा कोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्वपूर्ण छ’, एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘यस नयाँ रुटले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थितिलाई बलियो बनाउने मात्र होइन, व्यवसायिक र फुर्सदका यात्रुहरू दुवैका लागि सहज यात्राको विकल्प पनि उपलब्ध गराएको छ’, उनले थपे ।

अब यात्रुहरूले हिमालय एयरलाइन्स्को टिकटिङ काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij