२०८३ साउन १४ बिहिबार

चार प्रतिशतको आर्थिक वृद्धिले मुलुक समृद्ध बनाउने लक्ष्य पूरा नहुने अर्थमन्त्री महतको दाबी

ई आर्थिक    शनिबार, बैशाख ९ २०८०
3K
Shares
चार प्रतिशतको आर्थिक वृद्धिले मुलुक समृद्ध बनाउने लक्ष्य पूरा नहुने अर्थमन्त्री महतको दाबी

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको चार प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गर्दै समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताउनुभएको छ ।

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो। उहाँले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको बताउनुभयो ।

उहाँले मुलुकको आर्थिक वृद्धिदर बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सरकारले सबै आयोजना बनाउने भनेर स्रोत सुनिश्चितता बिना आयोजना घोषणा गर्ने गरेको बताउनुभयो । उहाँले ५० करोड आवश्यक पर्ने आयोजनामा पाँच लाख रुपियाँ राखेर स्रोतको सुनिश्चितता भयो भनेर ठेक्का लगाएको अवस्था रहेको भन्दै अब सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने बताउनुभयो ।

अर्थमन्त्री महतले करिब चार खर्ब रुपैयाँ बराबरका स्रोत सुनिश्चितता नभएका आयोजना ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको बताउनुभयो। उहाँले साना आयोजनामा समेत केन्द्र सरकारले हात हालेको भन्दै अब साना आयोजनाको काम स्थानीय सरकारलाई दिने बताउनुभयो। उहाँले आगामी बजेटमा स्रोत सुनिश्चितता भएका आयोजनालाई पहिलो प्राथमिकता हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘मुलुकको चार प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा हुँदैन । सरकारको आर्थिक मौद्रिक नीतिको लक्ष्य समान रूपमा आर्थिक वृद्धि बढाउने हो । हामीले माग आएजति योजना राख्ने, क्षमता नहेरी प्रतिबद्धता जनाउने र योजना अलपत्र पार्ने अवस्था अन्त्य गर्नु अनिवार्य भएको छ। यहाँ पनि दिन्छु, त्यहाँ पनि दिन्छु भनेर ५० करोडको आयोजनामा पाँच लाख राखेर स्रोतको सुनिश्चितता भयो भन्दिने कुराले हामी फसेका रहेछौँ । साना भन्दा साना आयोजनामा केन्द्रले हात हाल्ने कुरा गलत अभ्यास भयो । आयोजना राख्ने र काम गर्न नसक्ने कुराले हामीलाई थप अलोकप्रिय बनाउँछ । त्यसैले स्रोतले भ्याउने सुनिश्चितता गर्ने पद्धति बसाल्ने प्रयासमा छु। आगामी आर्थिक वर्षदेखि त्यो अभ्यास हुनेछ ।’’

अर्थमन्त्री महतले बैङ्कको ब्याजदर कम भएको अवस्थामा ऋण लिएका ऋणीले बैङ्कको उच्च ब्याजदर भएको बेला कर्जाको किस्ता तिर्न नसक्दा अर्थतन्त्र चलायमान बनाउन समस्या फैदाभएको बताउनुभयो। उहाँले बैङ्कको उच्च ब्याजदर कम गर्ने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको बताउनुभयो। उहाँले बैङ्कको ब्याजदर कम गर्ने विषयमा सरकार राष्ट्र बैङ्क सकारात्मक रहेको बताउनुभयो। उहाँले मौद्रिक नीति र नीतिगत कार्यक्रममार्फत अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो। उहाँले निजी क्षेत्रको आत्मविश्वास फर्काउन पनि आफूले काम गर्ने बताउनुभयो।

अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्नसक्ने क्षमता बढाउने काम गर्ने पनि बताउनुभयो। उहाँले सरकारले प्रभावकारिता मूल्याङ्कन गरेर खर्च गर्नुको विकल्प नभएको बताउनुभयो। उहाँले अर्थतन्त्र चालयमान बनाउनको लागि नीतिगत हस्तक्षेपको योजना बनाएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij