ई–आर्थिक, झापा । एनआईसी एसिया बैंकले केन्द्रीय बैंकको नीति विपरित ऋणीको घरमा सुरक्षाकर्मी पठाएको छ । बैंकको किस्ता रकम समयमा नबुझाएको भन्दै एक ऋणीले घरमा सुरक्षा गार्ड पठाएको हो ।
झापाको दमक नगरपालिका–५ का बैंकका ऋणी दुर्गाप्रसाद कँडेलको घरमा बैंकले तीन दिनदेखि सुरक्षा गार्ड पठाएको हो ।हाल कडेँलको घरमा दैनिक ९ बजेदेखि साँझ ५ बजेसम्म घरको दैलोमा सुरक्षाकर्मी राख्ने गरेको छ ।
आफूले व्यावसायमा समस्या आएकोले तीन महिना अगाडिदेखि बैंकमा साँवा ब्याज हाल्न नपाएको घरधनी कँडेलले जानकारी दिनुभयो । बैंकले तोकेको समयमा किस्ता दिन नसक्दा बैंकले घरमै सुरक्षा गार्ड पठाएको उहाँको भनाइ छ ।
बैंकमा आफ्नो एक करोड रुपैयाँ ऋण लिएकोमा अब साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाँकी रहेको कँडेलले बताउनुभयो । घरमा पाहुना आउँदा सुरक्षा गार्डले सलाम हान्ने गरेको बताउँदै आफ्नो समाज र आफन्तजनमा बेइज्जती भएको श्रीमती चन्द्रकला कँडेलले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले एनआईसी मात्रै नभएर कुनै पनि बैंकले यसरी ऋणीको घरमा सुरक्षा गार्ड राख्नु केन्द्रीय बैंकको नीति विपरित भएको बताउनुभयो । बैंकले आफ्नो सम्पत्तिको सुरक्षा र कर्जा असुलीका अन्य थुप्रै तैरतरिका हुँदाहुँदै यसो गर्नु नहुने उहाँको भनाइ छ ।
यता एनआईसी एसिया बैंकका दमक शाखा प्रबन्धक तीर्थ प्रधानले दमकमा ऋणीको घरमा बैंकले सुरक्षा गार्ड पठाएको पुष्टि गरे । उनले यसको सम्पूर्ण जिम्मेवार बैंकको केन्द्रीय समितिले हेर्ने पनि बताउनुभयो ।
बैंकले यसअघि पनि ऋणीसँग ऋण असुलीको शिलशिलामा विभिन्न अबैध प्रयासहरु गर्दै आएको भन्दै ग्राहकहरुले बैंकको कडा आलोचना गर्दै आएका छन् ।