२०८३ साउन ११ सोमबार

तत्काल ऋणको ब्याजदर एकल अंकमा नझर्ने बैंकर्स एसोसिएसनको प्रष्टोक्ती, बैंकका लगानीकर्तालाई घाटै नै रहेको भनाई

ई आर्थिक    बुधबार, फाल्गुन ३ २०७९
2.4K
Shares
तत्काल ऋणको ब्याजदर एकल अंकमा नझर्ने बैंकर्स एसोसिएसनको प्रष्टोक्ती, बैंकका लगानीकर्तालाई घाटै नै रहेको भनाई

ई–आर्थिक, काठमाडौं । ‘बैंकका लगानीकर्ता अहिले नोक्सानीमा छन्, संस्थापकहरुले झन सेयर बेच्न पनि आधा भाउ मात्रै पाउँछन्, लाभांश कुर्ने हो भने पनि ८ प्रतिशत जति मात्रै आउँछ, त्यो भन्दा धेरै त बैंकमा निक्षेप राख्दा नै आउँछ ।’ यो भनाई हो नबिल बैंकका सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको ।

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष समेत रहेका ढुंगनाले बैंकहरु यतिबेला निकै ठूलो घेराबन्दीबाट गुज्रिरहेको बताए । खरबौं लगानी गरेर अर्बमा नाफा कमाउने बैंकहरुमाथि भैरहेको घेराबन्दीले देशको हित भने नहुने उनी बताउँछन् । ‘बैंकहरुले धेरै नाफा गरेकै छैनन्, अलिअलि नाफा त चाहियो नै’, ढुंगाना भन्छन् ।

उनले बैंकिङ क्षेत्रमा कोरोनाको असर भर्खर देखिन थालेको पनि बताए । ‘कोरोनाको असर बैंकिङ क्षेत्रमा भर्खर देखिन थालेको छ, एनपीए बढिरहेको छ, त्यतिबेला राष्ट्र बैंकले भने अनुसार सहुलियत दिँदा त्यसको असर अहिले देखा परेको हो’,ढुंगानाले भने ।

उनले उनले १३.१४ प्रतिशतको ब्याजदर अहिलेका लागि अनौठो नभएको पनि दावी गरे । ‘राष्ट्रिय र अन्तराष्ट्रिय परिवेशलाई हेर्ने हो भने १३.१४ प्रतिशतको ब्याजदर अनौठो होइन’, ढुंगानाले भने ।
उनले तत्कालै बैंकको ब्याजदर एकल अंकमा आउन सम्भव नभएको पनि बताए । ‘अन्तराष्ट्रिय परिवेशले पनि ब्याजदर एकल अंकमा ल्याउन नरहेको देखाईरहेको छ, १३.१४ प्रतिशत ब्याज स्वभाविक हो’, उनले भने ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रमा केहि सहजताका संकेतहरु देखिएको भए पनि तत्कालै हौसिएर लगानी बढाईहाल्ने अवस्था भने नरहेको बताउँछन् । विश्व अर्थतन्त्रको बाछिाटाले नेपाललाई छुने भन्दै उनले तत्कालै एग्रेशिभ बिजनेश गर्ने अवस्था नभएको संकेत गरेका हुन् ।

सरकारले आवश्यक स्रोत जुटाउनका लागि आन्तरिक ऋण उठाउने सम्भावना रहेकाले पनि केहि समयभित्रै तरलतामा चाप आउने सम्भावना उनले औंल्याए । उनले ४ करोड ७० लाख निक्षेपकर्ताको हितलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए । ‘४ करोड ७० लाख निक्षेकर्ता हुनुहुन्छ, करिब १८ लाख ऋणी हुनुहुन्छ, हामीले निक्षेपकर्ताको ससानो रकम जम्मा गरेर ऋणीलाई दिने हो, हाम्रो पहिलो काम निक्षेपकर्ताको हितको रक्षा गर्नु हो, त्यसपछि ऋणीको हित हेर्छौ’, केसीले भने ।

बैंकहरुमा ६ खर्ब ५० अर्ब रुपैयाँ लगानी रहेको र उनीहरुले ५३ खर्ब निक्षेप उठाएर कुल गार्हस्थ उत्पादन भन्दा धेरै ऋण प्रवाह गरिरहेको उनको भनाई छ । पछिल्लो समय ऋणीहरुका बिषयले मात्रै चर्चा पाईरहेको भन्दै उनले दुखेसो पनि पोखे । ‘अहिले १८ लाख ऋणीहरुको आवाज उठिरहेको छ, ४ करोड ७० लाख साना निक्षेपकर्ताहरुको आवाजले प्राथमिकता पाएको छैन्’, केसीले दुखेसो पोखे ।
बैंकहरुले धेरै नाफा कमाए भन्ने आरोपको पनि उनले खण्डन गरे ।

६५० अर्ब पुँजी भएका बैंकहरुले ३०–४० अर्ब रुपैयाँ नाफा कमाउँदा गाली गर्नु गलत भएको केसीले बताए । ‘अहिले बैंकिङ क्षेत्र प्रेसरमा चलिरहेको छ’, केसीले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij