२०८३ साउन ११ सोमबार

सहकारीले अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या भएको सहकारी विभागका रजिष्ट्रार पण्डितको दाबी

ई आर्थिक    शनिबार, पौस १६ २०७९
7.9K
Shares
सहकारीले अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या भएको  सहकारी विभागका रजिष्ट्रार पण्डितको दाबी

ई–आर्थिक, काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी संघ संस्थाहरूले घरजग्गा, गाडी तथा यस्तै अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित सहकारी पत्रकार समाज (सिजेएन) को १२ औं वार्षिक साधारणसभामा उपस्थित रजिष्ट्रार पण्डितले सहकारीको पैसा अनुत्पादक क्षेत्रमा गएको तर सो पैसा सहकारीमा नै फिर्ता नहुँदा अहिलेको समस्या आएको बताए ।

यस्तो खराब कर्जा लगानी उठाउन सहकारी अभियान समेत नतातेको उनले आरोप लगाए । ‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफै त्यसको भुक्तभोगि छौं र पनि समस्या समाधनतर्फ किन लाग्दैनौं ?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरू नै लागि परेको छैन ।’

तरलता अभावकाबीच सहकारी संघ संस्थाहरुले सदस्यहरुको बचत रकम नै फिर्ता गर्न नसकेको सन्दर्भलाई जोड दिँदै रजिष्ट्रार पण्डितले भने, ‘अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ हजारभन्दा बढी फिर्ता नगर्नु भनेपछि झन् समस्या बढ्यो । त्यो समस्या समाधान गर्न विभागले निर्देशन नै जारी गर्नुपर्यो’ उनले भने ।

सोही अवसरमा रजिष्ट्रार पण्डितले केही प्राविधिक तथा वाध्यात्मक परिस्थितिले विभागले सहकारीको वास्तविक तथ्याङ्क राख्न नसकेको स्वीकार्दै माघपछि वास्तविक तथ्याङ्क आउने गरी विभागले काम गरिरहेको बताए ।

कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी प्रसाद उप्रेतीले सहकारीमा अहिलेको अवस्था आउनुको कारण राज्य र बैंक बित्तिय संस्थाको भएको बताए । राज्यले लिएको नीति र बैंंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण अहिलेको अवस्था सृजना भएको दाबी गरे ।

यस्तै कार्यक्रममा सिजेएनका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले सहकारीले बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसक्नु तरलता अभावको क्षणिक समस्या नभएर बताउँदै पत्रकारहरूले सहकारी संघ संस्थाहरुका अरु व्यथितिमा कलम चलाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij