२०८३ साउन ९ शनिबार

कालीगण्डकीमा जलविद्युत् आयोजनाको लर्को, म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसासम्म ४० किमि खण्डमा ५ विद्युत् आयोजना निर्माण प्रक्रियामा

ई आर्थिक    आइतबार, पौस ३ २०७९
7.8K
Shares
कालीगण्डकीमा जलविद्युत् आयोजनाको लर्को, म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसासम्म ४० किमि खण्डमा ५ विद्युत् आयोजना निर्माण प्रक्रियामा

म्याग्दी : बेनी–जोमसोम सडक किनारामा पर्ने म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसासम्म ४० किमि खण्डमा बग्ने कालीगण्डकी नदीबाट कम्तीमा ५ वटा मझौलादेखि ठूला जलविद्युत् आयोजना निर्माण प्रक्रियामा छन् । उक्त खण्डमा कालीगण्डकीमा मिसिने मिस्त्रीखोला, रेलेखोला र घारघोलामा थप ६ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

अन्नपूर्ण गाउँपालिकामा बग्ने कालीगण्डकी नदीमा एक सय ५० मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना बन्ने पक्का भएको छ । सरकारले हालै निजी लगानीमा निर्माण हुने १ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेसँगै म्याग्दीको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि समावेश भएको आयोजनाका अध्यक्षसमेत रहेका उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए ।

‘म्याग्दीमा निजी क्षेत्रको लगानी रहेको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको पीपीए हुन लागेको छ । छिट्टै आयोजना निर्माण सुरु हुँदै छ,’ म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभाका अवसरमा बेनी आएका महासंघ उपाध्यक्ष ढकालले भने, ‘म्याग्दीका व्यवसायीले पर्यटनसमेत कुनै क्षेत्रमा लगानीको प्रोजेक्ट बनाउनुहुन्छ भने म लगानी भित्र्याउन र साझेदार बन्न तयार छु ।’

व्यवसायी ढकाल नेतृत्वको हाइड्रो सपोर्ट प्रालिले ५३ मेगावाट क्षमतामा सर्भे अनुमति लिएको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको सर्भे डिजाइन संशोधन गरी एक सय ५० मेगावाट क्षमतामा पीपीए गर्न लागेको हो । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा बाँध बनाएर १ हजार ४ सय मिटर लामो सुरुङ मार्गबाट कालीगण्डकी नदीको पानी ल्याई अन्नपूर्ण–२ ठूलोबगरमा विद्युत् गृह बनाउने योजना छ ।

व्यवसायी ढकालसहितको समूहले अन्नपूर्ण गाउँपालिकामै कालीगण्डकीको सहायक मिस्त्रीखोलाबाट ४२ मेगावाट बिजुली उत्पादन गरेको छ । ३८ र ६५ मेगावाटका दुई वटा नीलगिरि खोला पहिलो र नीलगिरि खोला क्यास्केट आयोजना निर्माण पनि गरिरहेका छन् । कालीगण्डकी नदीमै अर्को जलविद्युत् आयोजना निर्माण हुने भएको छ । तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिले अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा बाँध बनाएर रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ नजिक विद्युत् गृह बनाई ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना निर्माण हुन लागेको समाचार घनश्याम खड्काले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij