ई–आर्थिक, काठमाडौं । नेपाल बायुसेवा निगमको जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको छ । यस्तो संकेत पाएपछि काठमाडौंबाट बैंककका लागि उडेको निगमको न्यरोबडी विमान बंगलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरका अनुसार निगमको आरए ४०१ उडान नम्बरको विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत बत्ती ककपिटमा देखिएपछि चालक दलले बैंकक जाँदै गरेको जहाजलाई बंगलादेशको चटगाउ विमानस्थलमा डाइभर्ट गरेका थिए ।
काठमाडौंबाट साढे ३बजे उडेको न्यरोबडी अल्फा किलो व्हिस्की विमान नेपाली समय अनुसार पौने ६ बजे बंगलादेशको चटगाउमा आकस्मिक अवतरण गरेको थियो ।
उक्त विमानमा सवार १ सय ५२ यात्रुलाई त्यहाको टर्मिनलमा राखिएको छ । जहाज बन्ने नबने केही टुंगो लागिसकेको छैन । ‘उक्त विमान बैंकक नै उड्छ या काठमाडौं फर्किन्छ भन्नेबारे कुनै टुंगो लागिसकेको छैन,’ निगमका एक कर्मचारीले भने, ‘सामान कार्गो कम्पार्टमेन्टमै छ । अफलोड गरिएको छैन ।’