२०८३ साउन ९ शनिबार

सहकारीमा बिग मर्जर जारी, तीन ठूला सहकारी मर्ज भएर साढे ८ अर्बको एउटै सहकारी बन्दै

ई आर्थिक    आइतबार, भाद्र २६ २०७९
11.3K
Shares
सहकारीमा बिग मर्जर जारी, तीन ठूला सहकारी मर्ज भएर साढे ८ अर्बको एउटै सहकारी बन्दै

ई–आर्थिक, काठमाडौं । नेपालका सहकारी मर्ज अभियान जारी रहेको छ । केही दिन यता काठमाडौं उपत्यकाका ठूला सहकारी दिन विराएर जस्तै मर्ज भइरहेका छन् । यसैबीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । पछिल्लो समय सहकारीमा समस्या आउन थालेपछि यसअघि पनि पाँच सहकारीले एकीकरण सम्झौता गरेका थिए ।

काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण सम्झौता भएको हो । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीकरण हो । एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुराँस सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ हुने प्रारम्भिक सहमति भएको छ । एकीकरणपछि संस्थाको अध्यक्ष जिबी राई र प्रमुख कार्यकारी अधिकृत विश्वराज अधिकारी रहने पनि सहमति भएको छ । एकीकृत संस्थाको सञ्चालक समिति सात सदस्यीय र लेखा सुपरीवेक्षण समिति तीन सदस्यीय हुनेछ । तीनवटै सहकारीले साधारणसभा छिट्टै सक्ने र त्यसपछि एकीकृत साधारणसभा गरी एकीकरणलाई अन्तिम रुप दिने सहमति जुटाएका छन् ।

राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), जिल्ला सहकारी संघलगायतका प्रतिनिधिहरु, तीनवटै सहकारी संस्थाका सञ्चालक, कर्मचारी र सदस्यहरुको उपस्थितिमा एकीकरण सम्झौता भएको हो ।

एकीकरणपछि संस्थाको सेयर सदस्य संख्या ११ हजार ४ सय ५९ पुग्नेछ भने सेयर पुँजी ३१ करोड ७ लाख ७२ हजार २ सय ४० रुपैयाँ कायम हुनेछ । त्यस्तै संस्थाको जगेडा कोषमा १३ करोड, १७ लाख ९६ हजार ४ सय ६५ रुपैयाँ, अन्य कोषहरुमा ३ करोड ८२ लाख ८१ हजार ५ सय ३५ रुपैयाँ र संस्थागत पुँजी २५ करोड ४९ लाख ५० हजार ३ सय ७४ रुपैयाँ हुने जानकारी गराइएको छ ।

त्यस्तै कुल बचत रकम ८ अर्ब ३३ करोड ७५ लाख ९६ हजार ४ सय ५ रुपैयाँ र ऋण लगानी ७ अर्ब २७ करोड ९४ लाख ८२ हजार ४१ रुपैयाँ रहने प्रस्तावित संस्थाका अध्यक्ष राईले जानकारी दिए । ठूला सहकारीहरुबीचको एकीकरणले राम्रो सन्देश प्रवाह हुने बताउँदै अध्यक्ष राईले एकीकरणले छिट्टै अन्तिम रुप प्राप्त गर्ने बताए । संस्था ठूलो हुनु मात्र उपलब्धि नभई सही ढंगले सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको भन्दै अध्यक्ष राईले सदस्य, कर्मचारी र सम्पूर्ण सञ्चालकहरुको साथले संस्थाले थप गति लिने दाबी गरे ।

लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा भएको एकीकरण सम्झौता कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल रहेकी थिइन् । कार्यक्रममा मल्लले सहकारी एकीकरण अहिलेको आवश्यकता रहेको बताउँदै छिट्टै एकीकरणलाई अन्तिम रुप दिन आग्रह गरिन् । सहकारी एकीकरणको आवाज विगतदेखि नै उठाउँदै आएको बताउँदै उनले तीन ठूला सहकारीबीचको एकीकरण सम्झौताले आफू खुशी भएको बताइन् ।

लालीगुँरास बचत तथा ऋण सहकारी संस्था अध्यक्ष धनबहादुर तामाङले वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, संस्थागत सुशासन, अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्न एकीकरणले थप सहयोग पुग्ने बताए । एकीकरणपछि संस्थागत सुशासन बलियो हुने, सञ्चालन खर्च तथा अन्य खर्च कम हुने, सदस्यहरुको विश्वास बढ्ने, सदस्यलाई गुणस्तरीय तथा प्रभावकारी सेवा र चुस्त व्यवस्थापनमा मद्दत पुग्ने अपेक्षा आफूहरुले लिएको उनले बताए ।

एकीकरण सम्झौता कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईं, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष खेम सुवेदी, उपाध्यक्ष सिता ढकाललगायत सहकारी अभियन्ताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij