ई–आर्थिक, काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी ५ जना घाइते भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा चितुवाको आक्रमणबाट एकै परिवारका ४ सहित ५ जना घाइते भएका छन् । बुधबार राति १ बजेतिर राम भट्टराईले पालेको लोकल कुखुराको छाप्रोमा चितुवा प्रवेश गरेको थियो ।
आक्रमणबाट २५ वर्षीय राम भट्टराई, उनकी आमा सरस्वती, ५० वर्षीय बुबा कुमार, हजुरआमा सानीमैयाँ घाइते भएका हुन् ।
यस्तै चितुवालाई खोरबाट भगाउने क्रममा छिमेकी २६ वर्षीय सुविन कार्की पनि घाइते भएका छन् ।
घाइतेहरूको सीतापाइलामा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको स्थानीयले जानकारी दिएका छ ।
घाइते पाँचमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको उनले बताए । दुई जना डिस्चार्ज भएका छन् ।
आक्रमणबाट ७७ वर्षीय हजुरआमा सानीमैयाँ बढी घाइते भएकी छिन्। उनको टाउको, हातमा चोट लागेको छ । यसैगरी कुमारको गर्दनमा चोट छ । सरस्वती भट्टराईको कुहिनोभन्दा मुनि चोट छ । रामको हातमा र सुविनको चाहिँ टाउकोमा चोट लागेको उनले बताए ।