२०८३ साउन १२ मंगलबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिट्ठेपानी डाँडा काट्न खुल्यो बाटो

ई आर्थिक    आइतबार, असार १९ २०७९
7K
Shares
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिट्ठेपानी डाँडा काट्न खुल्यो बाटो

पोखरा क्षेत्रीय विमानस्थलको पूर्वी भेगमा रहेको रिट्ठेपानीको डाँडा (गोलाकारभित्र)। विमानस्थलमा उडान र अवतरण गर्न ४० मिटर उचाइसम्म डाँडासहित ६ सय रूख कटान गर्नुपर्ने हुन्छ। तस्बिरः उमेश पुन

सन्तोष पोखरेल, पोखरा : भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिट्ठेपानी डाँडा काट्ने बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रूख काट्न सहमति भएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या आउने भएपछि कटानका लागि प्रक्रिया अघि बढाइएको थियो। विभागसँगको सम्झौतापछि डाँडासहित त्यहाँका ६ सय रूख काट्ने बाटो खुलेको उनले जानकारी दिए । ‘रूख मात्र काटेर हुँदैन। डाँडाको उचाइ पनि घटाउनुपर्छ। रूखका कारण डाँडा कटान रोकिएको थियो। अब बाटो खुलेको छ,’ उनले भने, ‘वन विभागसँगको सहमतिबिना रूख काट्न नपाउने भएपछि प्रक्रिया लम्बिएको थियो। तर अब सहज हुनेछ ।’

डाँडा र रूख कटानका लागि प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो। त्यही प्रतिवेदनअनुसार डाँडा काट्न ६ सय रूख काट्ने प्रक्रिया अघि बढाइएको थियो। ‘सहमति जुटेकाले अब टेन्डर प्रक्रिया सुरु हुन्छ। वर्षायाम भएको र टेन्डर प्रक्रियाका कारण डाँडा र रूख कटानका लागि अझै केही समय लाग्नेछ,’ उनले भने, ‘जतिसक्दो छिटो हुनेगरी कटान सुरु गर्ने प्रयास भइरहेको छ ।’

डाँडाको १४ देखि ४० मिटर उचाइसम्म कटान गर्नुपर्ने उनले बताए । ४० रोपनी क्षेत्रफलको डाँडा र रूख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ। प्राधिकरणले आगामी जनवरी १ देखि पोखराको यो विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य राखे पनि डाँडा कटानबाहेक अर्काे मुख्य अवरोध मानिएको ल्यान्डफिल साइट स्थानान्तरण पनि आवश्यक रहेको निरौलाले बताए। ‘डाँडा कटानको समस्या अब सुल्झनेछ। त्यसैले अब पोखराले ल्यान्डफिल साइट स्थानान्तरण गर्न चासो दिनुपर्छ,’ उनले भने। रिट्ठेपानीमा दुईवटा डाँडा काट्नुपर्ने हुन्छ। ती डाँडामा साल, चिलाउने, कटुसलगायत रूख छन् ।

विमानस्थलबाट करिब डेढ किलोमिटर परको बाच्छेबुडुवामा पोखरा महानगरले फोहोर विसर्जन गर्दै आएको ल्यान्डफिल साइट अन्यत्र सानुपर्ने भए पनि त्यसको काम अझै सुरु भएको छैन। ल्यान्डफिल साइटको फोहोरका कारण चरा आकर्षित हुँदा त्यसको जोखिम विमानस्थललाई हुने विज्ञहरूले औंल्याउँदै आएका छन् । ल्यान्डफिल साइट सार्ने जिम्मा पोखरा महानगरको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए ।

गत जुलाई १० मा काम सक्नेगरी विमानस्थल निर्माण जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसिईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो। यसबीच कोरोना भाइरस संक्रमण फैलियो। तर पनि चिनियाँ कम्पनीले कामलाई निरन्तरता दिएकाले विमानस्थल निर्माणले गति लिएको थियो ।

कोरोनाको अप्ठेरोका बाबजुद निरन्तर खटिँदा ९३ प्रतिशत काम पूरा भएपछि गत चैत तेस्रो साता निर्माण कम्पनीले महŒवपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो। कोरोनाको अप्ठेरोले तोकिएको समयमा सबै काम नसकिएपछि एक वर्षका लागि थपिएको म्याद आगामी जुलाई १० मा सकिँदै छ। तर, विमानस्थल अहिले पूर्ण रूपमा तयार भइसकेको छ ।

विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार रिट्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म कटान गर्नुपर्ने हुन्छ। डाँडा कटान गर्दा बल्ल विमानको उडान र अवतरणमा सहज हुने उनले बताए । यो डाँडा विमानस्थलको पूर्वी भेगमा पर्छ । ‘डाँडा काटेपछि सुरक्षा हिसाबले उडान र अवतरणमा सहज हुनेछ,’ पौडेलले भने, ‘विमानस्थलबाट आकाशको पहुँच क्लियर बनाउन मात्र खोजिएको हो ।’ डाँडा काटेपछि सुरक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ । ‘अनिवार्य रूपमा डाँडा काट्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘विमान स्थलसम्मको आकाशको पहुँच क्लियर बनाउन मात्र खोजिएको छ ।’

जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार डाँडामा रहेका ६ सय रूख कटान हुनेछन्। तीमध्ये ठूला रूख ८४ वटा छन्। बाँकी ५ सय १६ भने ३० सेन्टिमिटरसम्म गोलाइ भएकाले ती साना आकारमा पर्छन्। कार्यविधिमा एउटा रूख काटेबापत १० वटा नयाँ बिरुवा रोपेर प्राधिकरणले वनलाई हस्तान्तरण गर्नुपर्ने बरालले बताएको समाचार सन्तोष पोखरेलले आजको नागरिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij