ई–आर्थिक, काठमाडौं । मौसमका कारण उडानमा गडबडी भइरहेको छ । मौसममा आइरहेको गडबडीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमतिमा हेरफेर गर्ने भएको छ । प्राधिकरणले मौसम सफा नभएको आवस्थामा आन्तरिक उडानका लागि अनुमति नदिने जनाएको छ ।
नेपालको जटिल भौगोलिक तथा मैसमी परिस्थितिलाई सम्बोधन गर्दै निश्चित अवधिसम्म उडानको लागि प्रतिकूल मैसमको विवरण दिएको अवस्थामा वायुसेवा सञ्चालक र विमास्थलहरूलाई उडानमा रोक लगाएको उल्लेख गरेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार आइतबार भएको तारा एयरको विमान दुर्घटनालाई मध्यनजर गर्दै प्राधिकरणले यो निर्णय गरेको हो । विज्ञप्तिमा अबदेखि वायुसेवा कम्पनीहरूले सम्बन्धित इकाईमा उडान योजना पेश गर्दा गन्तव्य तथा मार्गको मौसम सम्बन्धी जानकारी जल तथा मैसम विज्ञान विभागबाट संकलन गरी सो समेत पेश गर्नुपर्ने उल्लेख गरेको छ । साथै उक्त विवरणमा मैसमी अवस्था अनुकूल भएमा मात्र हवाई अफिस सेवा वा सम्बन्धित इकाइले हवाई योजना स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस्तै सम्बन्धित बायुसेवा कम्पनीहरूले कुनै पनि उडानहरू सञ्चालन गर्दा मौसम सम्बन्धी प्रतिवेदन संकलन तथा ब्रिफिङ गरी उडान सञ्चालन गराउने जिम्मा लाइसेन्स प्राप्त उडान सञ्चालक अधिकारीलाई दिनुपर्ने उल्लेख गरेको छ ।
एक इञ्जिन भएको हेलिकप्टरको उडानको हकमा भने प्राधिकरणले तोकेबमोजिमको अवस्थामा बाहेक दुईजना विमान चालक अनिवार्य गर्ने भएको छ। यसका लागि प्राधिकरणले प्रस्ताव तयार गरेर सात दिनभित्र पेश गर्नेगरी पाँच सदस्यीय टोली गठन गरेको छ ।
उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई पाइलट अनिवार्य यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।
एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए ।
पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए ।
अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकप्टर र हवाइजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ ।