ई–आर्थिक, काठमाडौं । रुसी फौजले डिनिप्रो शहरमा रहेका युक्रेनी सैनिक अखडामा दुईवटा मिसाइल (क्षेप्यास्त्र) हमला गरेको छ । युक्रेनको चौथौ ठूलो शहर डिनिप्रोमा भएको हमलामा भवनहरु ध्वस्त भएको र आगो लागेको क्षेत्रीय विपद् सेवाले जानकारी दिएको हो ।
उक्त हमलामा परी हताहतीबारे विवरण आउन बाँकी छ । डिनिप्रो शहर सन् २०१४ देखि रुस समर्थित युक्रेनी विद्रोहीको कब्जामा रहेको लुहान्स्क र डोनेत्सकको पश्चिम क्षेत्रमा पर्दछ ।पछिल्लो पटक ११ दिन अघि रुसले दुईवटा क्षेप्यास्त्र आक्रमण गरेपछि डिनिप्रो शहरमा रहेको विमानस्थल क्षति भएको थियो ।
अलजजिराका अनुसार स्वतन्त्र रुपमा यस हमलाबारे पुष्टि हुन बाँकी छ ।
चारलाख दुई हजार युक्रेनी जनता रुसको शरणमा
यसबैबीच आफ्ना नागरिकलाई जबर्जस्ती रुसमा लगेको युक्रेनले आरोप लगाएको छ । द्वन्द्वग्रस्त इलाकाबाट करिब चारलाख दुई हजार युक्रेनी जनतालाई रुसमा लगेको आरोप लगाएको हो ।
युक्रेनका अनुसार युक्रेनमा लगिएका युक्रेनी जनतालाई राजधानी किभमाथि दबाब दिन प्रयोग गर्न सक्ने विषयमा आशङ्का गरिएको छ । लगिएका युक्रेनी जनतामा ८४ हजार बालबालिका रहेको बताइएको बीबीसीले उल्लेख गरेको छ ।
रुसले सोही सङ्ख्यामा युक्रेनी शरणार्थी रुसमा प्रवेश गर्न चाहेकाले प्रवेशाज्ञा दिएको दाबी गरेको छ । युक्रेनको पूर्वी क्षेत्रका युक्रेनी विद्रोहीहरुले कब्जा गरेको क्षेत्रमा रुसीभाषा बोल्ने युक्रेनी जनताको बाहुल्य छ ।
ती विद्रोहीहरु मस्कोसँग प्रत्यक्ष रुपमा सम्पर्कमा छन् ।