ई–आर्थिक, काठमाडौं । युक्रेनमा रुसको आक्रमणको निन्दा गर्ने मुलुकमा नेपाल पनि परेको छ । उक्त आक्रमणको निन्दा गर्ने प्रस्तावलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा व्यापक समर्थन प्राप्त भएको छ । नेपालले पनि मानव अधिकार परिषद्मा युक्रेनमा आक्रमण गर्ने रुसको प्रस्तावको निन्दा गरेको छ ।
परिषद्ले कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधको छानबिन गर्न आयोग गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ । मानवअधिकार परिषद्मा ३२ सदस्य राष्ट्रले रुसको विपक्षमा दुईले पक्षमा मतदान गरे भने १३ देश मतदानबाट टाढा रहेका थिए ।
भारत, चीन, पाकिस्तान, क्युवा र भेनेजुएलाले मतदानमा भाग लिएनन्। यद्यपि, प्रस्तावको पक्षमा मतदान गर्ने केही देशहरूले प्रस्तावको शब्दावलीलाई एकतर्फी भनेका छन् ।
यो प्रस्ताव युक्रेनले अमेरिका र बेलायतको सहयोगमा मानवअधिकार परिषद्मा पेस गरेको हो ।
सुरक्षा परिषद् र संयुक्त राष्ट्र संघको महासभामा समेत भारतले रुसविरुद्धको प्रस्तावमा मतदान गरेन । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले मानवअधिकार परिषद्को प्रस्तावको स्वागत गरेका छन् ।