ई–आर्थिक, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी प्रकाशमान सिंहले समर्थन गर्ने भएका छन् ।
आज विहान नेता सिंहको निवास चाक्सीबारीमा उहाँहरुबीच भएको भेटवार्तामा सो सहमति भएको नेता सिंहले सञ्चारकर्मीलाई जानकारी दिए । सिंहले भने– ‘अगामी दिनमा पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने र पार्टीमा देखिएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने सहमति भएको छ ।’
महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुन लागेको हो ।
महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ ।
मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
यसैबीच प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने भएका छन् । स्रोतका अनुसार उनी चाँडै उपप्रधानमन्त्री बन्ने छन् ।

त्यसैगरी कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छन् । निधि निवास पुगेका देउवासँगको छलफलपछि उनले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
सिंहको निर्णयमा विश्वप्रकाशको समर्थन
यसैबीच प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका विश्वप्रकाश शर्माले दोस्रो चरणको सभापति निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने प्रकाशमान सिंहको निर्णयको समर्थन गरेका छन् ।
देउवासँगको भेटपछि सिंहले आफ्नो समर्थन उनलाई रहेको बताएका हुन् । नेता शर्माले ट्वीट गरेर आफ्नो सिंहको निर्णयको पक्षमा आफू रहेको उल्लेख गरेका हुन् ।
शर्माले ट्वीट गरेका छन्, ‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु–नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उनी उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’