ई–आर्थिक, काठमाठौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ‘ह्याक’ भएको छ । मोदीको ट्वीटर ह्याण्डल केही समयका लागि प्रधानमन्त्रीको नियन्त्रण बाहिर गएको प्रधानमन्त्री मोदीको कार्यालयले जानकारी दिएको छ । आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको थियो ।
मोदीको निजी एकाउन्टबाट आइतबार बिहान २ बजेर ११ मिनेट तथा २ बजेर १५ मिनेटमा बिटक्वाइनसम्बन्धी उस्तै ट्वीट गरिएको थियो । ती ट्वीटमा भारतमा बिटक्वाइनलाई वैध टेण्डरका रुपमा स्वीकार गरिएको र सरकारले आधिकारिक रुपमा ५०० बिटक्वाइन किन्ने तथा त्यसलाई देशका नागरिकमा बाँडिने उल्लेख थियो । दुवै ट्वीट केही मिनेटमै ‘डिलिट’ गरिएको थियो । तर स्क्रिनशट भने सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर मोदीको निजी एकाउन्ट केही समयका लागि ह्याक भएको जानकारी दिएको हो । ह्याक भएको समयको ट्वीटलाई आधिकारिक नमान्न आग्रह गरिएको छ ।