२०८३ साउन २३ शनिबार

प्रदेश १ मा बैंकहरूको पौने ५ खर्ब लगानी

ई आर्थिक    मंगलबार, कार्तिक २३ २०७८
3.8K
Shares
प्रदेश १ मा बैंकहरूको पौने ५ खर्ब लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले प्रदेश १ मा पौने ५ खर्ब लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको पहुँच विस्तारसँगै वित्तीय साक्षरतासमेत बढ्दै गएकाले बैंकबाट ऋण लिने क्रम बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २६.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ८० अर्ब पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १६.४ प्रतिशतले बढेको थियो । कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न चालू आवको मौद्रिक नीतिले दिएको छुट तथा सुविधा, सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा सुविधा, सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि आदि कारणले लगानीका लागि वातावरण अनुकूल बन्दै गएकाले अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

कर्जा वृद्धिको तुलनामा निक्षेप भने कम रहेको छ । २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप २४.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ४६ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २७.९ प्रतिशतले बढेको थियो । सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोबारमा भएको वृद्धि तथा बैंकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश १ मा वाणिज्य बैंकका ७ सय २८, विकास बैंकका १ सय ७७, वित्त कम्पनीका २५ तथा लघुवित्त वित्तीय संस्थाका ७ सय ८३ गरी जम्मा १ हजार ७ सय १३ शाखामार्फत सेवा प्रदान भएको छ । २०७८ असार मसान्तमा निक्षेपकर्ताको संख्या १७.७ प्रतिशतले वृद्धि भई ४८ लाख १८ हजार पुगेको छ भने ऋणीहरूको संख्या २१.३ प्रतिशतले वृद्धि भई २ लाख ४३ हजार पुगेको छ ।

२०७८ असार मसान्तमा विपन्न वर्ग कर्जा ६०.६ प्रतिशतले वृद्धि भई ४० अर्ब ८३ करोड, पुनर्कर्जा ९ अर्ब ५१ करोडले वृद्धि भई १० अर्ब ३७ करोड, सहुलियतपूर्ण कर्जा १७४.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ७० करोड र प्राथमिकता प्राप्त कर्जा ६१.४ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब पुगेको छ ।

कोभिड–१९ विरुद्धको खोपलगायतका कारणहरूले रोकिएका आर्थिक गतिविधि पुनः सुचारु हुन थालेकाले आगामी दिनमा लगानी बढ्ने सम्भावना भएकाले निक्षेपको तुलनामा कर्जाको माग उल्लेख्य रूपमा वृद्धि हुने अध्ययन प्रतिवेदनले औंल्याएको समाचार आजको कारोबारले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij