ई–आर्थिक, काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न उर्दी गरेको छ । निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न सर्वोच्च अदालतको आदेश आएको भोलीपल्टै सरकारले कर असुल्न उर्दी गरेको छ ।
आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको जनाएको छ ।
२०७७ चैत र २०७८ साल वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद, वैशाख महिनाको बुझाउनुपर्ने आयकरको अग्रिम करकट्टी भएको र कम र सोको विवरण बुझाउने म्याद साथै अन्तः शुल्क दाखिला गर्ने समय, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद असार २५ गतेसम्म रहेको विभागले जनाएको छ ।
अर्थ मन्त्रालयको आज बसेको बैठकले उक्त म्याद तोकेको विभागको भनाई छ ।
निषेधाज्ञाले थला परेका व्यवसायीहरु कर पछि तिर्दा हुने मनस्थितिमा रहेकै बेलामा सरकारले यस्तो बाध्यता पारको हो ।
