ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्री बनेका नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज दिउसो पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई हिजो विहीवार अबेर प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ भोली शुक्रबार हुनेछ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत दावी गरी सरकार गठनको आव्हान गरेको समयसीमाभित्र कसैको दावी पेश नभएपछि संसदमा ठूलो दलको हैसियतमा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए । दफा ७६ (३) अनुसार उहाँले नियुक्ती पाएको एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्राबधान छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’