२०८३ साउन ९ शनिबार

आज आमाको मुख हेर्ने पर्व मनाइँदै, कोरोनाका कारण मातातीर्थ मेला स्थगित

ई आर्थिक    मंगलबार, बैशाख २८ २०७८
3.3K
Shares
आज आमाको मुख हेर्ने पर्व मनाइँदै, कोरोनाका कारण मातातीर्थ मेला स्थगित

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मंगलवार देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । गत वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो ।

कोरोनाले मातातीर्थ मेला स्थगित

वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवंगत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं –६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ । यस वर्ष वैशाख २८ गते मंगलवार आमाको मुख हेर्ने औँसी परेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जानकारी दिएको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गतवर्ष पनि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो ।

आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जानकारी दिएको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नुपनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij