ई–आर्थिक, काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारीका कार्यकारी अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो । हाल उनलाई ललितपुरमा ल्याएको ललितपुर परिसरले जानकारी दिएको छ ।
सहकारीमा रहेको बचत ७० करोड र विभिन्न व्यक्तिबाट गरी उनले करिब २ अर्ब भन्दा बढी ठगी गरेर फरार थिए ।
संस्थामा सदस्यले जम्मा गरेको बचत अध्यक्ष स्वयंमले चलाएको प्रारम्भिक अध्ययनले देखाइसकेको छ । प्रारम्भिक अध्ययन अनुसार संस्थामा सदस्यहरुको ७० करोडको हाराहारीमा बचत छ । उक्त रकम मध्ये अधिकांश रकम अध्यक्ष दिवाकर श्रेष्ठले चलाएका छन् ।
संस्थामा अध्यक्ष श्रेष्ठ नै कार्यकारी प्रमुख थिए । संस्थाका अधिकांश सञ्चालक सहकारी के हो ? र कसरी चल्छ भन्ने विषयमा अनविज्ञ रहेको बताइएको छ । संस्थाका अधिकांश कर्मचारी सहकारीका सञ्चालक रहेका छन् । संस्थाको लगानी कहाँ कति छ ?, बचत कति जम्मा भएको छ ? लगायतको सम्पूर्ण हिसाब हेर्ने जिम्मा पाएका एक कर्मचारीले केही महिना अघि मात्र आत्महत्या गरिसकेका छन् ।
१८ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा संस्थाले सर्वसाधरणबाट निक्षेप संकलन गरेको बुझिएको छ । उक्त संस्थामा भक्तपुरका एक सदस्यको मात्रै ९ करोड रुपैयाँसम्म फसेको बताइन्छ । संस्थाका उपाध्यक्ष र केही सञ्चालक भने सम्पर्कमा आएका छन् तर, उनीहरु भने संस्थाका बारेमा त्यत्ति जानकार देखिदैनन् ।
यसअघि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले समस्या समाधानका लागि पहल थालेको थियो । केही समय अघि सदस्यहरुलाई संघमा बोलाएर समस्या समाधानका लागि औपचारिक पहल सुरु गरेको थियो । उक्त संस्था जिल्ला बचत संघको सदस्य पनि भएकाले संघले पहल थालेको संघका एक पदाधिकारीले जानकारी दिए । संघमा भएको भेलाले बचतकर्ताहरुबाट ६ सदस्यीय कार्यदल बनाएको छ । उक्त कार्यदलले समस्या समाधानका लागि ललितपुर महानगरपालिका सहकारी शाखालाई पनि अवगत गराइएको छ ।
कार्यदल, संस्थाका सञ्चालक, सदस्य, नियामक निकाय र बचत संघका सञ्चालकहरुबीच एक चरण छलफल भइसकेको छ । छलफल पछि समस्या समाधानको पहल गर्ने निष्कर्ष निकालिएको थियो । संस्थाको हिसाब किताब र यथार्थ अध्ययन गरेर समस्या समाधानको पहल गर्ने तयारी भइरहेको बेला संस्थाका अध्यक्ष श्रेष्ठ पक्राउ परेका हुन ।
उनी फरार भएपछि प्रहरीले उनलाई ठगीको आरोपमा पक्राउ गर्न खोजिरहेको थियो । उनी चितवनमा रहेको सुचनाको आधारमा खोजी गर्दा उनलाई त्यहीबाट पक्राउ गरेर ललितपुरमा ल्याएको हो ।
ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।
उनी विरुद्ध थप उजुरीहरु आइरहेकाले उनले थप रकम ठग गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यस वारेमा प्रहरीले पनि थप अनुसन्धान गरिरहेको छ ।