ई–आर्थिक, काठमाडौं । सुनको आपूर्ति बढाउने तयारीमा नेपाल राष्ट्र बैंक रहेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न राष्ट्र बैंक सकारात्मक वनेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग भेटकाक्रममा राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नर डा. नीलम ढुङगाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंकले तयारी गरिरहेको जानकारी दिइन् । बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने उनले बताइन् ।
माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै उनले अहिलेको बजारको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राखेकी थिइन् ।
सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधमिण्डलसँगको भेटकाक्रममा अर्का नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै माग र आपूर्तिको वीचमा सन्तुलन ल्याउनका लागि आपूर्ति बढाउन राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
त्यसक्रममा विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले कोटा वृद्धिका लागि आवश्यक प्रकृया अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् । सोही विभागका उपप्रमूख गुरुप्रसाद पौडेलले ब्यवासायीको माग शिघ्र सम्वोधन हुने बताए ।

त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न राष्ट्र बैंकका पदाधिकारीहरु समक्ष आग्रह गरे । सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उनले उल्लेख गरे ।
अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको उनको भनाई छ । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनको कथन थियो ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको व्यवसायीहरुले जानकारी दिएका छन् ।
यसअघि सुनको आपूर्ति बढाउन अर्थमन्त्री विष्णु पौड्याल पनि सहमत भएका छन् । यो पछि व्यवसायीले कति सुन पाउने हुन त्यो भने हेर्न बाँकी छ ।