२०८३ साउन ९ शनिबार

जाम्बियाले नेपालमा खोल्यो वाणिज्य दूतावास, वाणिज्य दूतमा देश बन्धु बस्नेत नियुक्त

ई आर्थिक    शुक्रबार, फाल्गुन २८ २०७७
9.3K
Shares
जाम्बियाले नेपालमा खोल्यो वाणिज्य दूतावास, वाणिज्य दूतमा देश बन्धु बस्नेत नियुक्त

ई–आर्थिक, काठमाडौं । जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्य सहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको जानकारी दिएको छ ।

जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई.देश बन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य समेत रहेका सफल व्यवसायी वस्नेतलाई जाम्बियाले आफ्नो वाणिज्य दूतमा नियुक्त गरेको हो । जाम्बियाको बाणिज्यदूतमा नवनियुक्त बस्नेत महासंघको द्विराष्ट्रिय तथा एनराएन फोरमका सभापति समेत हुन् ।

नवनियुक्त वाणिज्यदूत बस्नेतलाई जाम्बियाको भारतस्थित नेपाल हेर्ने राजदूत जुडिथ के.के. क्याङगोमा कपीजिंगपाङ्गाले विशेष कार्यक्रमबीच काठमाडौंस्थित वाणिज्य दूतावास कार्यालयका लागि झण्डा, लेटलहेड, स्ट्याम्प लगायत कार्यालय संचालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी छिन् ।

नेपालमा खुलेको जाम्बियाको वाणिज्य दूतावासले द्विपक्षिय सहायता तथा सहयोगमा काम गर्ने भएको छ । जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा विशेष सुविधाको उपयोग गर्न पाईने उल्लेख छ ।

नवनियुक्त वाणिज्यदूत बस्नेतले आगामी दिनमा जाम्बिया र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए । ‘जाम्बियाले भर्खरै मात्र नेपालमा आफ्नो वाणिज्य दूतावास स्थापना गरेको छ यसले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ,’ उनले भने, ‘सरकारले आफ्ना विभिन्न नीति तथा कार्यक्रमा ल्याउन वैदेशिक लगानी भित्र्याउन उच्च प्राथमिकता दिने बताउँदै आइरहेको छ भने निजी क्षेत्रले पनि सोही अनुरुप प्रयास गर्दै आएका छन, यस सम्झौताले सरकारको उक्त नीति कार्यान्वनलाई समेत ठूलो सहयोग पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij