२०८३ साउन ११ सोमबार

चल्लाको मूल्य छोइनसक्नु, ह्याचरीको दर ९५ रुपैयाँ, किसानको खोरसम्म पुग्दा ११० रुपैयाँसम्म

ई आर्थिक    सोमबार, फाल्गुन २४ २०७७
8.2K
Shares
चल्लाको मूल्य छोइनसक्नु, ह्याचरीको दर ९५ रुपैयाँ, किसानको खोरसम्म पुग्दा ११० रुपैयाँसम्म

ह्याचरी उद्योग संघ भन्छ–‘संघले बढाएको छैन, व्यवसायीले मनलागी गरे’

काठमाडौँ : मासुको मूल्य उकालो लागिरहँदा ब्रोइलर चल्लाको मूल्य पनि उच्च दरले वृद्धि भएको छ । ह्याचरी उद्योगहरूले ब्रोइलर चल्लाको मूल्य ९५ रुपैयाँ तोकेका छन् । किसानले भने तिनै चल्ला ११० रुपैयाँसम्ममा खरिद गरिरहेका छन् ।

किसानले खरिद गरिरहेको मूल्य अहिलेसम्मकै उच्च रहेको व्यवसायी स्वयं बताउँछन् । कोभिड र लकडाउनपछि प्यारेन्ट आउन सकेन । यसले चल्ला उत्पादन नबढेको ह्याचरी व्यवसायी रविन पुरीको भनाइ छ ।

चिसोकै कारण उत्पादनमा थप समस्या देखिएको उनले बताए । भएकै प्यारेन्टबाट पनि उत्पादन बढाउन नसकेपछि अभाव देखिएको हो । त्यसको फाइदा उठाउँदै चल्लाको मूल्य अकासिएको पुरीले जानकारी दिए । ‘ह्याचरीले एउटा चल्ला ९५ रुपैयाँमा बिक्री गरेका छन्, उक्त मूल्य अहिलेसम्मकै उच्च हो,’ दाना उद्योग संघका अध्यक्षसमेत रहेका पुरीले भने । व्यवसायीका कारण केही ठाउँमा १ सयदेखि १ सय १० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले पनि चल्लाको मूल्य अहिलेसम्मकै उच्च भएको प्रतिक्रिया दिए । ‘उत्पादन कम भएपछि चल्लाको मूल्य केही बढ्यो,’ उनले भने, ‘एक दिनको चल्लाको मूल्य सय रुपैयाँ भनेकै धेरै महँगो हो ।’ चल्लाको मूल्य अकासिएपछि राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरीसमेत दर्ता गराएको छ । समितिले कालोबजारी भएको भन्दै विभागमा फागुन ४ मा उजुरी दर्ता गराएको थियो । समितिले उजुरी दर्ता गराउँदा ह्याचरीले एउटा चल्लाको मूल्य ९० रुपैयाँमा बिक्री गरिरहेका थिए । उक्त चल्ला किसानको खोरसम्म पुग्दा ९५ रुपैयाँसम्म पर्थ्यो । तर उजुरी दर्ता भएको केही दिनमै ह्यचारी व्यवसायीहरूले प्रतिचल्लाको मूल्य थप ५ रुपैयाँ बढाएर ९५ रुपैयाँ पुर्‍याएका छन् ।

‘ह्याचरी व्यवसायी पनि कमाउनै बसका हुन् । तर मूल्य मनपरी राखे,’ संघर्ष समितिका संयोजक विष्णु खड्काले भने, ‘विभागमा पटकपटक उजुरी गर्दा पनि सुनुवाइ हुँदैन । मूल्य हेर्ने दायित्व विभागको हो, वाणिज्य आँखा चिम्लेर बसेको छ ।’ उजुरी दिँदासमेत सुनुवाइ नहुँदा मूल्य बढाउनुमा विभागकै मिलोमतो रहेको उनले आशंका व्यक्त गरे । चल्लाको मूल्य सम्बोधन नभए मुलुकभरका किसान संघसंगठनसँग छलफल गरेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘मूल्य बढ्नुमा विभाग र ह्याचरी उद्योगको मिलोमतो छ । विभागले पनि ढाकछोप गर्न खोज्यो,’ खड्काले भने । समितिका अनुसार चल्लाको मूल्य ८५ रुपैयाँ हुँदा किसानले कुखुरा बेच्दा प्रतिकिलो २ सय ५० रुपैयाँसम्म पाएका छन् । बजारमा तयारी मासुको मूल्य ३ सय ७० रुपैयाँसम्म पर्छ । ‘किसानले २ सय ५० रुपैयाँ पाउँदा घाटा पनि हुँदैन, त्यति नाफा पनि छैन,’ खड्काले भने, ‘चल्लाको मूल्य बढ्नेबित्तिकै कुखुरा हुर्काउँदा लागत स्वतः बढ्छ । त्यसले किसान घाटामा जान्छन् ।’

खड्काले पनि अभावको मौका छोपेरै चल्लाको मूल्य आफूखुसी बढाइएको दाबी गरे । सामान्यतया एक सातामा ५५ लाख चल्ला उत्पादन हुने गरेको ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए । अहिले ३० लाख चल्ला मात्रै उत्पादन भएको छ । ‘उत्पादन करिब आधा घटेको छ, अभाव भएपछि मूल्य स्वतः बढेको हो,’ उनले भने, ‘मूल्य अझै बढ्न सक्छ ।’ यद्यपि चल्लाको मूल्य संघले निर्धारण नगरेको उनको दाबी छ । ह्याचरी उद्योगीहरूले व्यक्तिगत रूपमै चल्लाको मूल्य राख्ने गरेको उनले बताए । ‘मूल्य निर्धारणको निर्णय संघले नगर्ने भनेर केन्द्रीय समितिकै बैठकमा निर्णय भएको छ । त्यसैले अहिले भइरहेको मूल्यवृद्धिमा संघको हात छैन,’ उनले भने, ‘ह्याचरी उद्योगी स्वयंले मूल्य तोकेका छन् ।’

दाना उद्योग संघका अध्यक्ष पुरीले पनि चल्ला अभाव भएपछि ह्याचरीभन्दा किसानले नै मूल्य बढाउने गरेको दाबी गरे । ‘किसानले डिलरमार्फत बढी मूल्य तिरेर भए पनि चल्ला किन्छन् । मूल्य बढ्नुमा उनीहरूको केही हात हुन्छ,’ उनले भने । लकडाउनकै अवधिमा चल्ला बिक्री नहुँदा सित्तैमा समेत दिनुपरेको उनले सुनाए । व्यवसायीहरूले चल्ला अभाव दाबी गरिरहँदा अवैध रूपमा भने प्रशस्त भित्रिएको पाइएको छ । सरकारले बर्डफ्लुका कारण भारतबाट पशुपन्छीजन्य वस्तु आयात बन्द गरे पनि तस्करी रोकिएको छैन । सरकारले चालु आर्थिक वर्षको फागुन दोस्रो सातासम्मममा ३९ हजार ३ सय ४१ वटा कुखुराका चल्ला नष्ट गरेको पशु सेवा विभागले जनाएको समाचार राजु चौधरीले आजको कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij