२०८३ साउन ९ शनिबार

चैतयता कोरोना नियन्त्रणमा १८ अर्ब खर्च

ई आर्थिक    आइतबार, फाल्गुन १६ २०७७
6.4K
Shares
चैतयता कोरोना नियन्त्रणमा १८ अर्ब खर्च

संघीय सरकारद्वारा ९ अर्ब खर्च

काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा विगत १० महिनामा १८ अर्ब रुपैयाँ खर्च गरेको देखिएको छ । गत वर्षको चैतदेखि चालू आर्थिक वर्षको पुससम्म १८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको देखिएको हो ।

अर्थ मन्त्रालयका अनुसार सरकारले संक्रमण नियन्त्रण गर्न गत आर्थिक वर्षमा ११ अर्ब ८६ करोड ९२ लाख र चालू आवमा ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । मन्त्रालयका प्रवक्त डा. रामप्रसाद घिमिरेका अनुसार कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालू आवको पहिलो ६ महिनामा मात्र ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । “यो खर्च संघ, प्रदेश र स्थानीय तहबाट चालू आर्थिक वर्षमा भएको खर्च हो ।” उनले भने, “यसैगरी आव ०७६/७७ मा ३ वटै सरकारले ११ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।” यो खर्च सरकारी अनुदान र कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको पैसासमेत खर्च भएको छ ।

कोरोना नियन्त्रणका लागि विगत १० महिनामा संघीय सरकारले ८ अर्ब ५९ करोड ९८ लाख, प्रदेश सरकारले २ अर्ब ९२ करोड ३ लाख र स्थानीय सरकारले ८ अर्ब १० करोड ६७ लाख रुपैयाँ खर्च गरेका छन् । चालू आवको ६ महिनाको तुलनामा गत आवको ४ महिनामा साढे ५ अर्ब रुपैयाँ बढी खर्च भएको देखिएको छ । सो अवधिमा कोरोना संक्रमण उच्च रहेका कारण पूर्वाधार निर्माण र रोकथामका लागि धेरै पैसा खर्च भएको देखिएको मन्त्रालयले जनाएको छ ।

सरकारले विगत १० महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी कार्यमा प्रयोग गरिने औषधि, उपकरण, उपचार सामग्रीको आपूर्तिमा धेरै खर्च गरेको छ । त्यसैगरी संक्रमित व्यक्तिको व्यवस्थापन गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण, सो कार्यसँग सम्बन्धित जनशक्ति परिचालन र सरकारको निर्णयबमोजिम राहत वितरण गर्न आवश्यक स्रोत परिचालनमा पनि धेरै खर्च भएको छ । यसैगरी संक्रमण रोकथामका लागि इपिडिमियोलोजी सम्बन्धित क्रियाकलाप, कन्ट्रयाक्ट टे«सिङ, क्वारेन्टिन व्यवस्थापन, परीक्षण, उपचार र स्वास्थ्यकर्मीको सेवा सुविधा र बिमामा धैरै खर्च भएको छ ।

यो अवधिमा कोरोनाको बढदो संक्रमणलाई केन्द्रित गरेर ४०० आईसीयू शैया, ३०० भेन्टिलेटर सहितको शैया र उच्च निर्भरता (हाई डिपेनडेन्सी) का लागि २ हजार शैया थपिएको छ । यो अवधिमा अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध ६ हजार ४९० शैयामा ३८.४ प्रतिशत (२,४९२) थप गरिएको छ । अस्पताल र स्वास्थ्यचौकीमा उपलब्ध कुल शैया ८ हजार ९८२ पु¥याइएको छ । कोभिड–१९ को महामारीको सामना गर्ने क्रमसँगै केन्द्रमा ३०० बेड र सबै प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल निर्माण गर्न प्रक्रियासमेत प्रारम्भ गरेको छ ।

सरकारले गत वर्षको चैतको सुरुदेखि नै बन्दाबन्दी गरी कोभिड–१९ महामारी नियन्त्रणको काम सुरु गरेको थियो । सरकारले सुरुमा यो खर्चबाट पीसीआर परीक्षण, राहत, स्वासथ्यकर्मी परिचालन, उपकरण खरिद, क्वारेन्टिन निर्माण, विदेशबाट उद्दार, परीक्षण किटलगायतका क्षेत्रमा धेरै खर्च गरेको जनाएको छ ।

विगत १० महिनामा महामारी फैलिएपछि ४ लाखभन्दा बढी व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखेर संक्रमण नियन्त्रणमा खर्च भएको थियो । यसैगरी विगत १० महिनामा प्रयोगशालाको परीक्षणको दायरा बढाउनका लागि ४० भन्दा बढी सरकारी अस्पतालमा दैनिक २० हजारभन्दा बढी कोरोना परीक्षण क्षमता वृद्धि गरिएको समाचार गोपाल संग्रौलाले आजको कारोबारमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij