ई–आर्थिक, काठमाडौं । इन्डोनेशियाको माउन्ट सेमरुमा विशाल ज्वालामुखी बिस्फोट भएको छ । उक्त ज्वालामुखी विस्फोटबाट निस्किएको खरानी तथा धुवाँ ५.६ किलोमिटर परसम्म पुगेको छ ।
जनघनत्व अत्याधिक रहेको जाभा आइल्याण्डको आकाशमा पुरै खरानी तथा धुवाँ फैलिएको छ ।
विस्फोट विशाल भएपनि अहिलेसम्म माउन्ट सेमरु आसपास क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छैन ।
ज्वालामुखीका कारण अहिलेसम्म कोही घाइते भएको वा कसैको ज्यान गएको थाहा नभएको स्थानीय अधिकारीहरुले बताएका छन् । इन्डोनेशियाको राष्ट्रिय विपद न्यूनिकरण एजेन्सी (एनडिएमए) ले पहाडको भिरालो क्षेत्रमा बसोबास गरेका गाउँलेहरुलाई सक्रिय अवस्थामा रहेको ज्वालामुखीलाई लिएर सचेत रहन भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेट जाँदा उक्त स्थानमा ज्वालामुखी बिस्फोट भएको थियो ।