२०८३ साउन ९ शनिबार

इन्भेष्टमेन्ट र हिमालयन तथा नबिल र सिद्धार्थ बैंक मर्ज हुने, ठूलो बैंक हुन तीब्र होडबाजी

ई आर्थिक    शुक्रबार, पौस १० २०७७
103.8K
Shares
इन्भेष्टमेन्ट र हिमालयन तथा नबिल र सिद्धार्थ बैंक मर्ज हुने, ठूलो बैंक हुन तीब्र होडबाजी

ई–आर्थिक, काठमाडौं । निजी क्षेत्रका दुई पुराना बैंक नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक तथा नबिल र सिद्धार्थ बैंक मर्ज हुने भएका छन् । इन्भेष्टमेन्ट र हिमालयन बैंकले भित्रभित्रै मर्जको तयारी गरिरहेका बेला नबिल र सिद्धार्थ बैंकबीच पनि मर्जको व्यापक तयारी शुरु भएको छ ।

एनआईसी एसिया, प्रभु, प्राइम जस्ता बैंकहरुको कारोबार आकार तीब्ररुपमा विस्तार हुन थालेपछि ठूला बैंकहरुको कारोबारमा धक्का लाग्न थालेको छ । त्यसैले यी बैंकहरु मर्जमा जान तयार भएका हुन । इन्भेष्टमेन्ट र हिमालयन बैंकले भित्रभित्रै मर्जको तयारी सिध्याउन लागेको थाहा पाएपछि त्योभन्दा छिटो मर्ज गर्न नबिल र सिद्धार्थ बैंकबीच पनि दबाब बढ्न पुगेको छ । यस सम्बन्धमा काम तीब्ररुपमा भैरहेको पनि थियो । यसैबीच नबिल बैंकले वार्षिक साधारण सभाको घोषणा ग¥यो र पहिलोपटक मर्जको प्रस्ताव एजेण्डामा समावेश ग¥यो ।

त्यसपछि भने बजारमा हल्ला शुरु भैहाल्यो र सिद्धार्थ बैंकले त मर्जको हल्ला आधिकारिक नभएको सपष्टा पार्न बाध्य भयो । भित्रभित्रै काम भैरहँदा बजारमा चलखेल हुनसक्ने भएकोले नियामक निकाय धितोपत्र बोर्डले प्रष्टीकरण सोध्न सक्छ भनेर यसो भनिएको बताइएको छ ।

नबिल बैंकका कार्यकारी प्रमुख अनिल शाहले भनेअनुसार मर्जका लागि पहिलो पटक साधारणसभामा प्रस्ताव लैजाने घोषणा भैसकेको छ । व्यवस्थापनले विभिन्न बैंकको ब्यालेन्स सीटको अध्ययन गरी कुनमा फाइदा बढी फाइदा हुनसक्छ भनेर सञ्चालक समितिलाई सुझाव दिइसकेको छ । उनले भनेका छन्, व्यवस्थापनले प्राविधिक अध्ययन गरी सुझाव दिने हो र निर्णय गर्ने काम बोर्डको नै हो ।

नबिल सम्बद्ध सूत्रका अनुसार सिद्धार्थ बैंकसँग मर्ज पोर्टफोलियो, व्यापारको आकार, प्रतिफल, कार्यसंस्कार र सिनर्जी फाइदा सबैभन्दा उच्च हुनेछ । त्यसैले यस बैंकसँग पहिलो प्राथमिकतासहित मर्जको वार्ता गर्नुपर्ने सुझाव दिइएको छ । नबिलका मालिक र सिद्धार्थका मालिकहरुबीच यस सम्बन्धमा कुरा हुँदा चित्तबुझ्दो स्वाप रेसियो र सञ्चालक समितिमा औचित्यपूर्ण प्रतिनिधित्व हुनुपर्ने प्रसंग उठेको बताइएको छ । नबिल साइडबाट भने डीडीएबाट आएको मूल्य अनुसार १० प्रतिशतको सीमाभित्र मिल्नेगरी स्वाप रेसियो कायम गर्न सकिने प्रतिक्रिया आएको बताइएको छ । नबिलले सिद्धार्थलाई दबाब दिन अन्य बैंकसँग पनि वार्ता भैरहेको सन्देश पनि दिएको छ ।

यो समाचार फाट्टफुट्ट बाहिर आउन थालेपछि सिद्धार्थ बैंकको सेयर कारोबारमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् । बिहीबार मात्र यस कम्पनीको २७ करोड माथिको कारोबार भएको छ र नबिलसँग मर्ज को वार्ता हुन थालेको समाचार बाहिर आउन थालेपछि नै कारोबार बढेको हो ।

यसैगरी इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जका लागि भित्रभित्रै सम्पत्ति तथा दायित्वको विस्तृत मूल्यांकन डीडीएको काम भैरहेको छ भने सञ्चालक समिति तथा उच्च कर्मचारी व्यवस्थापनमा सहमति निकालिसकिएको छ । यस अनुरुप मर्ज भएपछि अध्यक्ष पृथ्वीवहादुर पाँडे, कार्यकारी प्रमुखमा अशोक राणा र सहकार्यकारी प्रमुखमा ज्योति पाँडे रहने सहमति बनिसकेको छ । यता नबिल बैंकमा पर्दा पछाडिबाट विनोद चौधरीले बोर्ड चलाएपनि उनले नेपाल उद्योग वाणिज्य महासंघ र सीएनआईमा सँगै काम गरेका सिद्धार्थ बैंकका मुख्य लगानीकर्ताहरु एमसी ग्रुप र केडिया अर्गनाइजेसन मुख्य व्यक्तित्वहरुसँग कार्यसंस्कार मिल्ने भएकोले यी दुई बैंकबीचको मिलापको प्रवल संभावना देखिन्छ ।

सञ्चालक समितिमा प्रतिनिधित्व पनि संभव हुन सक्छ । तर समाचार सूत्रहरुका अनुसार स्वाप रेसियो अनावश्यकरुपमा धेरै मागेको अवस्थामा मर्ज अगाडि नबढ्न पनि सक्नेछ । मिल्ने हो भने भित्रभित्रै हिमालयन र इन्भेष्टमेन्ट भन्दा छिटो काम सक्नुपर्ने नबिलको जोड छ ।

नबिल एनआईसी र सिद्धार्थ प्रभु बैंकसँगको प्रतिस्पर्धामा पछाडि पर्न थालेकोमा चिन्तित छन् । चुक्ता पुँजी कम भएको प्रभुले चालु आर्थिक वर्षको पहिलो आधा वर्षमा नै सिद्धार्थ कर्जा र निक्षेपमा उछिन्ने स्थिति देखिएको छ ।

नाफामा भने गत असोजमा नै दोब्बरभन्दा बढीले प्रभुले जितिसकेको छ । पहिला नै शाखा धेरै विस्तार गरेको प्रभु बैंकलाई अहिले एनआईसीलाई जस्तै सञ्जालको लाभ प्राप्त भै बेसरेट ठूला बैंकसँगको स्तरमा रहेको छ । त्यसैले यस बैंकले तीब्ररुपमा व्यापार बढाइरहेको छ । यस बैंकले ज्योति समूह, गुण समूह, रामेश्वर थापा, चन्द्र ढकालको चन्द्रागिरी हिल, पृथ्वी पाँडेको एलफ्ट होटेल लगायत ठूला घरानीयाका कर्जाहरु धमाधम तानिरहेको छ र पोर्टफोलियो अविश्वसनीय ढंगले बढाइरहेको छ ।

त्यस्तै नबिललाई पनि एनआईसीएसिायले निक्षेप र कर्जा दुवैमा जितिसकेको छ । नाफामा मात्र नबिलको बढी देखिएको छ । तर मर्ज नभएमा नबिललाई एनआईसीले चालु आवको अन्त्यसम्ममा नाफामा पनि जित्न सक्नेछ । त्यसैले पोर्टफोलियोको आकारमा अन्य बैंकहरुले उछिन्न थालेपछि रन्थनिएको नबिलले पनि आकारलाई ठूलो बनाएर मात्र प्रतिफल लिन सकिने परिदृश्य देखिएपछि ठूलो पोर्टफोलियोका बैंकलाई राम्रै स्वाप रेसियो दिएर भएपनि लिनैपर्ने निष्कर्षमा पुगेको देखिन्छ । पहिला विकास बैंक गाभ्ने सोचलाई नबिलले अहिले बदलिसकेको छ ।

विशेषगरी बेसरेट घटाएर नबिलसँगै प्रतिस्पर्धा गर्न एनआईसी तम्तयार देखिएपछि राष्ट्रबैंकको दबाब भन्दा पनि बजारमा हैसियत स्थापित गर्न मर्जरको लागि यो बैंक अग्रसर हुन थालेको हो । सिद्धार्थ बैंकसँग मिलेर खर्च कटौतीसमेत गर्ने हो भने मर्जपछिको यस बैंकलाई अरु कसैले भेटाउन सक्नेछैन । मुलुकको राजनीतिक र आर्थिक वातावरण प्रतिकूल हुँदै गएको र यी चार वटा ठूला बैंक मिल्ने हो भने फेरि एनआईसी निकै पछाडि पर्नेछ । किनभने पुँजी पर्याप्तता अनुपात कम भएको र डिबेञ्चर जारी गर्ने सीमा पनि नभएकोले यस बैंकले अव कारोबार विस्तार गर्न सक्ने स्थिति छैन ।

डिबेञ्चर बढी जारी गर्दा ओभर ट्रेडिङको जोखिम बढी हुन्छ । कि हकप्रद जारी गर्नुपर्ने हुन्छ । राष्ट्रबैंकले हकप्रद सेयर जारी गर्न नदिने भएकोले यस बैंकले पनि मर्जका लागि साझेदार खोज्नुपर्ने हुन्छ । त्यसैले बजार विस्तार गर्न यस बैंकले आफ्नो लगानी भएको अन्य कम्पनीको सेयर विक्री गर्ने रणनीति बनाएको छ ।

यी चारवटा बैंक मर्ज भएमा एनआईसी लगायत अन्य बैंकलाई पनि मर्जमा जान दबाद सिर्जना हुनेछ ।

नबिल र सिद्धार्थ मर्ज भएमा निक्षेप ३ खर्ब ६० अर्ब तथा कर्जा ३ खर्ब ६ अर्ब र चुक्ता पुँजी करिव २५ अर्बसहित कुल पुँजीकोष करिव ४० अर्ब हुनेछ भने हिमालयन र इन्भेष्टमेन्ट बैंकको निक्षेप ३ खर्ब १२ अर्ब र कर्जा २ खर्ब ४० अर्ब तथा कुल पुँजीकोष करिव ४६ अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij