२०८३ साउन ९ शनिबार

भुक्तानी नदिने छ वटा चिनी मिलका सञ्चालकलाई पक्राउ गरिने

ई आर्थिक    बुधबार, पौस १ २०७७
11.3K
Shares
भुक्तानी नदिने छ वटा चिनी मिलका सञ्चालकलाई पक्राउ गरिने

ई–आर्थिक, काठमाडौं । उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योगीलाई सरकारले पक्राउ गरेर असुल उपर गराउने भएको छ । सरकारले उखु किसानको रकम भुक्तानी नदिने छवटा चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरिसकेको छ ।

काडमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानको मागलाई सम्बोधन गर्न मङ्गलबार गृह मन्त्रालयमा बसेको सम्बद्ध मन्त्रीहरू सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

उखु किसानको ६० करोड रुपियाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गरिने छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सहभागी हुनुहुन्थ्यो ।

गृह मन्त्रालयले पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएको जनाइएको छ ।

आन्दोलनरत पीडित किसानले भने रौतहट, सर्लाही र नवलपरासीमा सञ्चालित छवटा चिनी मिलबाट ९० करोड रुपियाँ भुक्तान हुन बाँकी रहेको जानकारी दिएका छन् ।

हाल बन्द रहेका चिनी मिल बिक्री गरेर भए पनि रकम पाउनुपर्ने माग किसानहरुको छ । गृह मन्त्रालयका अनुसार रौतहटको श्रीराम सुगर मिल, सर्लाहीको महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिल, नवलपरासीको लुम्बिनी चिनी मिल, इन्दिरा सुगर मिल, बागमती खाँडसरी मिलले किसानको रकम भुक्तानी गर्न सकेका छैनन् ।

उखुको मूल्य भुक्तानी पाउन माग गर्दै आन्दोलन गरिरहेका किसानले पनि चिनी मिलका सञ्चालकलाई कानुनी कारबाहीको माग गर्दै आएका छन् । आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन अन्य जिल्लाका पीडित किसान पनि आन्दोलनमा सहभागी हुने क्रम जारी छ ।

त्यसैगरी उखु किसानको मागलाई विभिन्न राजनीतिक दलहरुले समेत समर्थन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij