२०८३ साउन ९ शनिबार

कमिसनतन्त्रकै कारण सरकारले समयमै मल ल्याउन सकेनः लेखा समिति सभापती शाह

ई आर्थिक    मंगलबार, मंसिर १६ २०७७
6.2K
Shares
कमिसनतन्त्रकै कारण सरकारले समयमै मल ल्याउन सकेनः लेखा समिति सभापती शाह

सोमबार रुपन्देहीको तिलोत्तमा १७ विपि ग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल शिलान्यास सभापती भरतकुमार शाह ।

रेखा भुसाल, बुटवल : सार्वजनिक लेखा समिति सभापती भरतकुमार शाहले नेकपा भित्रको आन्तरिक द्वन्द्व र बढ्दो भ्रष्टाचारले मुलुकलाई बर्बादीको दिशा तर्फ धकेलेको बताएका छन्। सोमबार रुपन्देहीको तिलोत्तमा १७ विपि ग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहले दुई तिहाइको सरकार देश र जनताको हितमा काम गर्नुको साटो आन्तरिक किचलो र भ्रष्टाचारमा चुर्लुम्ब डुबेको बताए ।

‘जनताले तपाइहरुलाई दिएको दुई तिहाइ मत आन्तरिक किचलोमा भुल्न र भ्रष्टाचारी संरक्षण गर्न होइन। शुसाशन कायम गर्दै विकास र समृद्धि ल्याउन हो’ नेता शाहले भने। सरकार भ्रष्टाचारी संरक्षण र कमिसनतन्त्रमा लाग्दा जनतामा निरासा बढेको र राजावादीहरुले चलखेल गर्ने मौका पाइरहेको दाबी शाहले गरे। उनले रासायनिक मलका लागि ११ अर्ब बजेट छुट्याए पनि कमिसनतन्त्रकै कारण सरकारले समयमै मल ल्याउन नसकेको पनि आरोप लगाए ।

नेता शाहले सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट मान्दिन भनेपनि सो रिपोर्टले भनेजस्तै देश भ्रष्टाचारले आक्रान्त बन्दै गएको दाबी गरे। भ्रष्टाचारका ठूल्ठूला काण्डहरु नेपाली काँग्रेसले नै सदन मार्फत उजागर गरेको भन्दै उनले लेखा समितिले कारबाहीका लागि सिफारिस गरेको भ्रष्टाचारीलाई समेत सरकारले नै संरक्षण गर्दा मुलुकमा दण्डहीनता मौलाएको बताए ।

नेता शाहले सडक र पुल निर्माण मात्रै विकासको मानक नभएको भन्दै स्वास्थ्य, शिक्षा र गरिबी उन्मुलन नै एक्काइसौं सताब्दीको विकास भएको उल्लेख गरे। रुपन्देहीबाट निर्वाचित प्रतिनिधि सांसद शाहले रुपन्देहीमा विकासको लहर ल्याएको भनेर गफ दिनेहरु नै बुटवलबाट राजधानी सार्न भित्रभित्रै भूमिका खेलेको पनि आरोप लगाए ।

विपि ग्राममा स्थापना हुने अस्पताल पार्टी विशेषको अस्पताल नभइ सिंगो तिलोत्तमावासीको अस्पताल भएकाले तीन तहकै सरकार र अन्य राजनीतिक पार्टीले पनि पुर्ण सहयोग गर्नु पर्नेमा उनले जोड दिए। कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, विपी ग्रामका सेवा केन्द्रका अध्यक्ष नेत्रबहादुर राना, रामचन्द्र ढकाल, केन्द्रका सल्लाहकार हरी न्यौपाने, वडा नं. ९ वडा वडाध्यक्ष नारायण न्यौपाने, वडा १७ का वडाध्यक्ष दानबहादुर चौधरी, बिनोद न्यौपाने लगायतले बोल्दै ग्रामिण क्षेत्रमा निर्माण हुन लागेको अस्पतालले सो क्षेत्रका जनतालाई ठूलो राहत हुने बताए ।

विपि ग्राम सेवा केन्द्रमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल निर्माणका लागि संघ सरकारले गत र यो आर्थिक वर्षमा गरी १८ करोड ४४ लाख बजेट छुट्याएको छ। सो अस्पतालमा बर्थिङ सेन्टर संचालनका लागि तिलोत्तमा नगरपालिकाले गत वर्ष ३० लाख र यो वर्ष २० लाख बजेट बिनीयोजन गरेको तिलोत्तमा ९ का वडाध्यक्ष नारायण न्यौपानेले बताए। कुल साढे ५ बिगाह क्षेत्रफलमा सो अस्पताल निर्माण हुदैछ । नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij