विराटनगर : सरकारले तोकेको समर्थन मूल्यमा धान किन्न मोरङका कुनै पनि सहकारी इच्छुक नदेखिएपछि किसान समर्थन मूल्यभन्दा कममा बेच्न बाध्य भएका छन् । किसानले प्रतिक्विन्टल ७ सय ८५ रुपैयाँ घाटा बेहोरेर धान बिक्री गर्दै आएका छन् ।
सरकारले यसपालि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकेको छ । यो मूल्यमा धान खरिद गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मोरङले कात्तिक २१ गते सूचना सार्वजनिक गरेर इच्छुक सहकारी संस्थालाई सूचीकृत हुन आह्वान गरेको थियो । तर मोरङका एउटा पनि सहकारी सूचीकृत हुन नआएको परियोजना प्रमुख विनोद मण्डलले बताए ।
समर्थन मूल्यमा किसानको धान खरिद गर्ने सहकारी संस्थालाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान दिने सरकारको तयारी थियो । तर सहकारी तयार नभएपछि किसान बिचौलियाले तोकेको मूल्यमा धान बिक्री गर्न बाध्य भएको मण्डलको कथन छ । हाल मोरङमा मोटा धान प्रतिक्विन्टल १ हजार ९ सय ५० र मध्यम धान मोटा राधाको बजार मूल्य प्रतिक्विन्टल २ हजार २ सय रुपैयाँ छ, जुन मूल्य सरकारले तोकेको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल क्रमशः ७८५ र ६८५ रुपैयाँले कम हो ।
त्यसैगरी वास कान्छी प्रतिक्विन्टल २ हजार २ सय, सोना मन्सुली २ हजार २ सय ५० र मन्सुली धानको प्रतिक्विन्टल २ हजार ४ सय रुपैयाँ बजार मूल्य रहेको मोरङ व्यापार संघले उल्लेख गरेको छ । यो मूल्य धान मिलका प्रतिनिधि र बिचौलियाले हरेक दिन साँझ निर्धारण गरेर व्यापार संघलाई उपलब्ध गराउँछन् । यसमा पनि खरिदकर्ताले ढुवानी र आफ्नो नाफा कटाएर बाँकी मूल्यमा धान खरिद गर्छन् ।
३५ हजार क्विन्टल धान किनिँदै
पर्सा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगन्जले यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने प्रक्रिया थालेको छ । कम्पनीका सूचना अधिकृत मुनिलाल कुशवाहाका अनुसार केन्द्रले यस वर्ष ३० हजार क्विन्टल सोना मन्सुली र पाँच हजार क्विन्टल जिरा मसिनो धान खरिद गर्न कोटा तोकेको हो । यसै सातादेखि धान खरिद गर्ने प्रक्रिया सुरु भइसकेको कुशवाहाले बताए । ‘प्राथमिक धान खरिद समितिको सोमबारको बैठकले जिरा मसिनो धानको मूल्य निर्धारण गर्नेछ । सोना मन्सुली धानको समर्थन मूल्य सरकारले प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको छ,’ उनले भने ।
समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सचिव निगम शाखाका प्रमुख र कृषि ज्ञान केन्द्रका प्रमुख सदस्य हुन्छन् । यसबाहेक एक जना किसान प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी र अन्य उद्योग वाणिज्य संघबाट एक जना आमन्त्रित सदस्य समितिमा हुन्छन् । समितिको बैठकले जिरा मसिनो धानको खरिद मूल्य निर्धारण गर्नुका साथै सरकारले तोकेको सोना मन्सुली धानको समर्थन मूल्यलाई पनि जिल्लाको हकमा पारित गर्नेछ । केन्द्रले आइतबार नै सोना मन्सुलीको प्रतिक्विन्टल २ हजार २ सय र जिरा मसिनोको २ हजार ४ सय रुपैयाँ खरिद मूल्य सुझाएको कुशवाहाले जानकारी दिए ।
गत वर्ष कम्पनीले मंसिरको पहिलो साताबाट धान खरिद सुरु गरिसकेको थियो । त्यस बेला २० हजार क्विन्टल धान खरिदको कोटा पाएकामा माघ १० गतेसम्ममा लक्ष्य भेट्टाएको थियो । पाँच हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा पाएको कम्पनीले जम्मा ३२ क्विन्टल २५ किलो मात्र खरिद गर्न सकेको थियो ।
गत वर्ष सरकारले सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा निर्धारण गरेको थियो । प्राथमिक खरिद समितिले जिरा मसिनोको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार २० रुपैयाँ निर्धारण गरेको थियो । कान्तिपुरबाट