दैलेख । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरोका कारण भदौ २० गतेदेखि अवरुद्ध सडक मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको थियो। तर, दैलेखको भम्लु खोलामा पुनः पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार सडक खुलाउन प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा परिचालन गरिएको छ। सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी पहिरो पन्छाउने कामसमेत सुरु गरिएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौँतर्फ जाने यात्रुहरू प्रभावित भएका छन्। पहिरो तत्काल पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।