ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन तीन ठाउँमा हुने भएको छ । महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै तीन ठाउँमा निर्वाचन हुने जानकारी दिएको हो ।
महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम हरू गर्ने सूचनामा भनिएको छ ।
नयाँ कार्यतालिका अनुसार आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभाको मिति तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुनेछ ।
चैतमै हुनुपर्ने निर्वाचन कोभिडका कारण रोकिए पछि मिति सारेर ११ र १२ गते पु¥याएको हो ।
कोभिड–१९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्गित गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जानकारी दिएको छ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष तथा अन्य पदहरुमा भने निर्वाचन हुनेछ । कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ ।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रने घोषणा गरिसकेका छन् ।
कोरोना महामारीका बीच पनि दुबै प्यानलले आफ्नो चुनाबी प्रचारप्रसारलाई तीब्र पारेका छन् ।