२०८३ साउन १० आइतबार

जी २० का विदेशमन्त्रीहरूद्वारा आफ्ना सीमाहरू खोल्नुपर्नेमा जोड

ई आर्थिक    शुक्रबार, भाद्र १९ २०७७
5.1K
Shares
जी २० का विदेशमन्त्रीहरूद्वारा आफ्ना सीमाहरू खोल्नुपर्नेमा जोड

रियाद, भदौ १९ गते। विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी २० का विदेशमन्त्रीहरूले आफ्ना सीमाहरूलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरूले आफ्ना सिमानाहरू खोल्नुपर्ने बताएका हुन् ।

बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरूले यस विषयमा जोड दिएका हुन् । हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको भन्दै यसबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले उनीहरूले यो आग्रह गरेका हुन् ।

त्यस बैठकका क्रममा उक्त संगठनका विदेशमन्त्रीहरूले देशका सीमाहरू खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरू अपनाएर सीमा खोल्नुपर्ने बताएका हुन् ।

सो बैठकमा सहभागी भारतका विदेशमन्त्री एस जयशंकरले विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्यका मापदण्डहरू अपनाउनुका साथै स्तरीय परीक्षण विधिका बारेमा पनि छलफल भएको बताउनुभयो ।

उहाँले महामारीपछि जतिसक्दो चाँडो जि २० मा सहभागी देशहरूले आफ्ना देशमा सीमाहरू खोल्नुपर्नेमा सबैको एकमत रहेको बताउनुभयो । साउदी अरेबियाको पहलमा जि २० को भर्चुअल बैठकको आयोजना गरिएको थियो । शुक्रबार आयोजना गरिएको सो बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरूको सहभागिता थियो ।

सो बैठकमा सबै देशका विदेशमन्त्रीहरूले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका संक्रमितहरूको स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।

-रासस / एएनआई

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij