ई-आर्थिक, काठमाडौं। कोरोना संक्रमणको जोखिम बढेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकले आइतबार विज्ञप्ति जारी गरी आलोपालो कार्यालय बोलाउन तथा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा निरन्तरताका लागि कर्मचारीलाई आलोपालो रुपमा काम गराउन वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन छ।
त्यस्तै राष्ट्र बैंकले सरकारले विभिन्न स्थानमा लागु गरेको लबडाउन, निषेधाज्ञा, सवारीसाधनको जोरबिजोर प्रणालीलाई समेत मध्यनजर गर्दै फेरि वर्क फ्रम होम व्यवस्था मिलाएर कार्यसम्पादन गराउन भनिएको छ ।
राष्ट्र बैंकले प्रदेश सरकार, स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई समेत ध्यानमा राखेर आलोपालो गरी बैंक तथा वित्तीय सेवा सुचारु गर्न समेत बैंकहरुलाई भनेको छ । साथै यो समय संक्रमण जोखिम बढिरहेकाले विद्युतीय माध्यमको कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह छ।
