ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यमा रामेश्वर मानन्धरले उम्मेद्वारी दिने भएका छन् । दोलखा उद्योग बाणिज्य संघले संघको पूर्वअध्यक्ष समेत रहेका मानन्धरलाई केन्द्रिय सदस्य बनाउने निर्णय गरेको छ ।
संघको सोमबार बसेको नियमित बैठकले मानन्धरलाई जिल्ला-नगर तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मानन्धरले दोलखा उद्योग बाणिज्य संघको तीन कार्यकालको नेतृत्व सफलताको साथ पार गरिसकेका छन् । यसैगरी संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठलाई मुख्य प्रतिनिधि, रामेश्वर मानन्धरलाई उम्मेदवार प्रतिनिधि, देबकृष्ण थापालाई अतिरिक्त प्रतिनिधि बनाउने निर्णय पनि बैठकले गरेको छ । उम्मेदवार र प्रतिनिधिका सन्दर्भमा बैठकले सर्वसम्मत निर्णय गरेको संघका महासचिव हेमराज रिमालले जानकारी दिए ।
महासंघको चैत २६ र २७ गते हुने ५४ औं साधारणसभा तथा महाधिवेशन कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको थियो । उक्त साधारणसभा आगामी साउन २६ र २७ गते हुँदैछ । चुनावले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति निर्वाचित गर्नेछ । महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल र जिल्लानगर उपाध्यक्ष किशोर प्रधान प्यानलसहित चुनावमा होमिएका छन् । मानन्धर भने किशोर प्रधानको प्यानलबाट केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने भएका हुन ।