२०८३ असोज १ बिहिबार

नेपाल उद्योग वाणिज्य महासंघको चुनाबी सरगर्मी सुरू, ढकाल र प्रधान समूहको उम्मेद्वारी घोषणा

ई आर्थिक    बुधबार, असार ३१ २०७७
11.5K
Shares
नेपाल उद्योग वाणिज्य महासंघको चुनाबी सरगर्मी सुरू, ढकाल र प्रधान समूहको उम्मेद्वारी घोषणा

ई–आर्थिक, काठमाडौं । निजीक्षेत्रको सबैभन्दा ठूलो र महत्व बोकेको नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि चुनाबी सरगर्मी सुरू भएको छ । यसपटक महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधान समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

चुनावी प्रचार प्रसारको लागि दुबै प्यानलले आफ्नो सम्पर्क कार्यालय समेत राखेर निर्वाचनमा होमिएका छन् । चन्द्र ढकाल प्यानलको सम्पर्क कार्यालय बालुवाटार, काठमाडौंको परेली ब्यांकेटमा छ भने किशोरकुमार प्रधानको ललितपुरको याक प्यालेसमा रहेको छ ।

यसैबीच उल्लेख्य उद्योगी व्यवसायी उपस्थितिका बीच वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल प्यानलले उम्मेदवारी घोषणा गरेका छन् । ढकालको सो समूहले एक कार्यक्रमको आयोजना गरेरै आफ्नो प्यानलसहितको उम्मेदवारी घोषणा गरेका हुन् ।

सो समूहको एशोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाई, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी तथा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उम्मेदवार रहने भएका छन् ।

आफ्नो प्यानलको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले आफूले निर्वाचन जितेर शेखर गोल्छाको नेतृत्वको महासंघको टिममा काम गर्ने बताए । व्यवसायी हकहित र समृद्धिका लागि आफूलाई जिताउन उद्योगी व्यवसायीसँग उनले आग्रह गरे ।

महासंघको आगामी कार्यकालको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्नेछन् । महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।

ढकालले वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानसँग प्रतिस्पर्धा गर्ने भएका छन् । महासंघका भावि अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष पदमा प्रधानलाई सहयोग गर्ने भएका छन् ।

ढकालले भने आफूलाई सहयोग गर्न गोल्छासँग अनुरोध गरेका छन् । ‘मैले शेखर गोल्छालाई वरिष्ठ उपाध्यक्ष पदमा चुनाव जित्न सघाएको छु ।’ ढकालले भने– ‘त्यसलाई नबिर्सि सहयोग गर्नुहोला ।’

त्यसैगरी किशोर प्रधान समूहले पनि आफ्नो प्यानलको घोषणा गरेको छ । प्रधान प्यानलको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेद्वारी दिने भएका छन् ।

प्रधान समूहको उम्मेद्वार परिचय कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, बिनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशी समेत सहभागी थिए ।

उम्मेद्वारी घोषणा कार्यक्रममा प्रधानले आफ्नो नेतृत्वलाई जिताएमा सबै व्यवसायीको मुहारमा खुशी ल्याउने प्रतिवद्धता जनाए ।

महासंघको चैत २६ र २७ गतेको हुने साधारणसभा कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको थियो । उक्त साधारणसभा आगामी साउन २६ र २७ गते हुँदैछ । यही साधारणसभाले महासंघको बरिष्ठ उपाध्यक्ष सहितको नयाँ कार्यसमितको चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij